चन्द्रागिरिमा असन्तुष्ट देखिएका मेयर बालेनले बुढानिलकण्ठमा रिस पाेखेपछि…

Thankot Times

थानकोट ।
मंगलबार बुढानिलकण्ठ नगरपालिकामा बसेकाे काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुको मञ्च ‘मेयर्स फोरम’ को बैठकको सुरुमै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह जंगिएपछि बैठक केही समय तरंगित बन्यो ।

फोरमका यसअघिका बैठकमा बालेनले उपमेयर सुनिता डंगोललाई मात्रै पठाउने गरेका थिए । तर, पाँचौं बैठकमा भने उपमेयरसहित आफू पनि पुगेका थिए ।

मेयर्स फोरमको अध्यक्ष रहेका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बैठकमा एजेण्डा प्रस्तुत गर्न लागेका थिए । बालेनले उनलाई रोक्दै भने, ‘खै माइक दिनुस्, म बोल्छु ।’ आफूले बोल्दाबोल्दै रोकेपछि महर्जन अल्मलिए ।

‘मलाई बोल्न दिने कि नदिने ?’ बालेनले तत्कालै चिरिबाबुलाई जंगिदै प्रश्न गरे ।

जवाफमा चिरिबाबुले भने, ‘म वैठकको अध्यक्षता गरिरहकै छु, एजेण्डामा प्रवेश गरेपछि सबैजना बोलौंला, तपाईंलाई बोल्न नदिने भनेकै छैन नि ।’

महर्जनको कुरा भुइँमा खस्न नपाउँदै बालेन जंगिए, ‘बोल्न नदिने भए म किन बस्ने यहाँ ? माइक नदिने हो ? तपाईंहरु नै बस्नुस् बैठक ।’ यति भनेर बालेन बैठक छोडेर निस्किए ।

मेयर्स फोरमको बैठक महिनाको एक पटक बस्ने गरेको छ । पाँच महिना अगाडि फोरमको अध्यक्षमा ललितपुरका मेयर महर्जन अध्यक्षमा चुनिएका थिए । फोरम गठन हुनुअघि चन्द्रागिरि नगरपालिकामा भएको पहिलो भेलामा फोरमको अध्यक्षता काठमाडौंको मेयरका रुपमा आफूले गर्न पाउनुपर्ने बालेनको प्रस्ताव थियो ।

तर, अघिल्लो पटक काठमाडौंका मेयरले फोरमको अध्यक्षता गरेकाले यसपटक ललितपुरलाई दिनुपर्ने महर्जनले बताएका थिए । त्यसपछि बालेन आफू फोरमको साधारण सदस्य मात्रै हुने, अन्य पदमा नरहने भन्दै बाहिरिएका थिए अनलाइन खबरमा समाचार छ।

बैठकमा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी पनि सम्मिलित थिए । उनी फाेरमकाे महासचिव हुन् ।

फाइल फाेटाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ