मेयर बालेनको आरोप, ‘काठमाडौंका १७ वटा नगरपालिकाले निजी कम्पनीको पैसा खाए’

Thankot Times

थानकोट ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कुनै निजी कम्पनीबाट पैसा खाएर उपत्यका मेयर फोरमको बैठक बोलाइएको गम्भीर आरोप लगाएका छन् ।

मंगलबार ललितपुर महानगरपालिकाको अध्यक्षतामा बुढानिलकण्ठ नगरपालिकामा बसेको फोरमको बैठक बिचैमा छाडेर बाहिरिएका शाहले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन् ।

१७ वटा नगरपालिकाले कुनै निजी कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेर आफूले कसैको अपमान नगरेको मेयर शाहको तर्क छ । उनले लेखेका छन्, ‘नेताज्यूहरुले त देश नै बेच्न खोजिसक्नु भयो तर काठमाडौँ महानगर बिक्रीमा छैन । तपाईंहरुले पुरै देश नै बेच्नु भयो भने पनि काठमाडौँ एक्लै भए पनि नेपाल भनेर उभिनेछ ।’

फोरमको बैठकको अध्यक्षता ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गरेका थिए । बैठकमा उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा नेप वेस्ट नामक संस्थालाई दिनेबारे छलफल गर्न खोजिएको थियो । तर, यसबारे कम्पनीलाई नदिने भनेर अघिल्लै बैठकमा निर्णय भइसकेकोमा मंगलबारको बैठकमा किन एजेन्डा राखिएको भन्दै शाहले असन्तुष्टि जनाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ