स्थानीय उत्पादनको प्रवर्द्धनका लागि थानकोट चेकपोष्टमा ३ दिन झिलीमिली हाट बजार संचालन हुने
थानकोट ।
स्थानीय उत्पादनको प्रवर्द्धनका लागि चन्द्रागिरि नगरपालिका ०६ र ०७ ले तीन दिनका लागि संयुक्त रूपमा हाट बजार व्यवस्थापन गर्ने भएका छन् ।
कार्तिक २३, २४ र २५ गते थानकोट चेकपोष्टमा सो बजार सञ्चालन हुनेछ जसलाई झिलीमिली हाट बजार नाम दिइएको छ ।
सो बजारमा चन्द्रागिरि नगरपालिका ६ र ७ भित्र रहेका विभिन्न समूह, संघसंस्था तथा व्यवसायीहरूद्वारा उत्पादित आफ्ना उत्पादन (सम्बन्धित निकायबाट बिक्री वितरण गर्न अनुमति पाएका वस्तु तथा सेवा) बिक्री वितरण गर्न पाइने बताइएको छ ।
सो बजार चेकपोष्टस्थित वडा नं. ६ र ७ को कार्यालय पुग्ने मुल सडकको दायाँबायाँ तर्फ रहेका खुल्ला स्थानमा बिहान ८ देखी साँझ ८ बजेसम्म सञ्चालन हुने बताइएको छ ।
नजिकिँदै गरेको तिहार, नेपाल संवत् ११४४ तथा छठ पर्वका लागि स्थानीय स्तरमै सरसामान खरिदबिक्रीका लागि सो हाट बजार व्यवहारोपगी हुने अपेक्षा गरिएको सम्बन्धित वडाका जनप्रतिनिधिहरूले जानकारी दिए ।













