काठमाडौं महानगरका छाडा चाैपाया दक्षिणकालीमा व्यवस्थापन हुने, चन्द्रागिरिका कहाँ ?

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले सडकमा भेटिएका छाडा गाईबाच्छा (चौपाया) काञ्जी हाउसमा व्यवस्थापन गर्ने भएको छ।

मंगलबार महानगरभित्र छाडिएका चौपायाको कार्तिक २३ गतेदेखि दक्षिणकालीस्थित काञ्जी हाउसमा राख्न व्यवस्थापन गरिएको महानगरपालिकाका कृषि तथा पशुपंक्षी विभागका प्रमुख अवधेश झाले जानकारी दिए।

उनका अनुसार सडकमा छाडा छाडिएका चौपायाको संरक्षण र व्यवस्थापन पालिकाहरूले गर्नुपर्ने व्यवस्था छ।

‘सडकमा छाडिएका चौपायाले खान र तिर्खा लागेका बेला पानी पाउँदैनन्। बिरामी पर्दा उपचार पाउँदैनन्। सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ। उनीहरूलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौं,’ उनले भने, ‘काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद समेत गरिसकेका छौं।’

ती चौपायाको हेरचाह गर्न २ जना स्थानीयलाई दैनिक ज्यालादारीमा समेत राखिएको उनले बताए। यस्तै, चौपाया व्यवस्थापनका लागि दक्षिणकाली नगरपालिकाको-७ सँग समेत सहकार्य गरी पानी, बिजुलीलगायत सुविधा प्रबन्ध गर्ने उनको भनाइ छ।  

यस्तै, दक्षिणकाली नगरपालिका-७ का वडाअध्यक्ष हरिप्रसाद तिमल्सेनाका अनुसार यसले दक्षिणकाली नगर क्षेत्रको छाडा चौपाया समेत व्यवस्थापन सहयोग हुने छ। बुधबारबाट महानगरका चारवटै क्षेत्रबाट सडकमा भएका गाईबाच्छा संकलन गरेर टेकु ल्याइने महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

‘संकलित गाईबाच्छालाई सुविधाजनक ढुवानी व्यवस्था गरेर काञ्जी हाउस पुर्‍याउने छौं,’ उनले भने, ‘संकलन र ढुवानीका क्रममा पशु कल्याणलाई ख्याल गरिने छ।’

यस ठाउँमा काञ्जी हाउस सञ्चालन गर्न २०७८ फागुन ३ गते महानगर र दक्षिणकाली नगरपालिकाबीच सम्झौता भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ