स्थानीय उत्पादनको प्रवर्द्धनका लागि थानकोट चेकपोष्टमा आजबाट तीनदिने झिलीमिली हाटबजार सुरु

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकामा पहिलो पटक तीन दिने हाट बजार सुरु भएको छ ।

बिहीबारबाट बिहान ८ बजेबाट सुरु भएको हाट बजार कार्तिक २५ गते शनिबारसम्म सञ्चालन हुनेछ ।

चन्द्रागिरि नगरपालिका ६ र ७ थानकोट चेकपोष्टस्थित वडा कार्यालय क्षेत्रमा सञ्चालन सुरु भएको हाट बजारलाई झिलिमिली हाट बजार नाम दिइएको छ । बजार बिहान ८ बजेबाट साँझ ८ बजेसम्म खुला रहने बताइएको छ ।

तिहार नजिकिँदै गर्दा सञ्चालन हुन लागेको हाट बजारको चहल पहल गत मंगलबारबाट नै सुरु भइसकेको थियो, सडकमा राखिएको झिलिमिली बत्तीले बजार क्षेत्रमा राैनक थपेको छ ।

झिलीमिली हाट बजार व्यवस्थापनका समिति अध्यक्ष दयाराम थापाका अनुसार हाट बजार व्यवस्थापनका लागि ४ देखी ५ लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । सो रकम बजारका लागि स्टल बनाउन, सडकमा बत्ति राख्न तथा अन्य व्यवस्थापनका लागि खर्च हुनेछ । चन्द्रागिरि नगरपालिका ६ र ७ ले संयुक्त रूपमा सो खर्च व्यहोर्ने बताइएको छ ।

यसैबीच चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले हाट बजार सञ्चालनका सन्दर्भमा बुधबार स्थलगत अवलाेकन गरेका छन् । मेयर गिरीले करिब ३० हजार जनाले अवलोकन गर्ने हाट बजार मेलामा करिब १ करोड रूपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको प्रतिक्रिया दिए । मेयर गिरीले यस प्रकारको बजारले स्थानीय स्वरोजगारप्रति सम्मान जगाउने भन्दै नगरले अन्य वडाहरूमा पनि विशेष अवसरमा हाट बजार सञ्चालन गर्दै आएको बताउँदै लगातार ३ दिन हाट बजार सञ्चालन हुन लागेको यो पहिलो अवसर रहेकोले बजार अवलोकनका लागि सबैमा अनुरोध समेत गरे ।

पर्वलक्षित तीन दिने हाट बजार स्थानीय व्यवसायी तथा उत्पदाकका लागि आफ्नो उत्पादन तथा सेवाको प्रचार प्रसार तथा विक्री वितरणका लागि उचित अवसर भएको चन्द्रागिरि नगरपालिका वडा नं. ६ का वडाध्यक्ष संजय सिग्देलले बताए ।

हाट बजार सञ्चालन सडकको दायाँ बायँको क्षेत्रमा हुने भएतापनि सडक साँघुरो भएका कारण आगन्तुकहरूको भीडका कारण सवारी साधनहरूले वैकल्पिक सडक प्रयोग गर्न चन्द्रागिरि नगरपालिका ७ का वडाध्यक्ष शम्भुकुमार केसी सबैमा अनुरोध गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ