चन्द्रागिरिमा यसपालि रातिसम्म देउसी भैलो खेल्न पाइने !
थानकोट ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले देउसी भैलो खेल्ने समय तोक्दै यसपालि प्रशासनले सूचना जारी नगरेको बताएका छन् ।
‘विगतमा प्रशासनबाट समय तोकिँदै आइएको थियो। अहिले हामीले समय नतोक्ने, सुरक्षा प्रदान गर्ने भन्ने नीति लिएका छौं,’ उनले भने, ‘हामीले सल्लाह गरेर यसपटक समय नतोक्ने निर्णय गरेका हौं।’
चाडपर्वमा मानिसहरूले मादक पदार्थ सेवन गर्ने र भिडको मौका छोपेर अपराध निम्त्याउन सक्ने भएकोले प्रशासनले देउसी भैलोका लागि समय तोक्ने गरेको उनको तर्क थियो।
‘रातका बेला आपराधिक घटना बढ्न सक्छ, मादक पदार्थ सेवन, झै-झगडा पनि हुन सक्ने भएकाले सुरक्षाको दृष्टिकोणले समय तोक्ने गरिएको हो,’ उनले भने, ‘देउसी भैलो खेल्ने क्रममा झडप हुने, घाइते हुने, आपराधिक घटना पनि भए। त्यसैले समय तोकेको हुनुपर्छ। यसपालि समय नतोकौं, कस्तो हुन्छ हेरौं।’
देउसी भैलो खेल्नका लागि समय तोक्ने कि नतोक्ने भन्नेबारे अन्तरजिल्ला प्रशासन प्रमुखहरूबीच बैठकसमेत गरिएको उनले बताए। ‘यसपालि समय नतोकौं भन्ने कुरा भएको थियो,’ उनले भने।
देउसी भैलो खेल्ने समय तोक्न गृह मन्त्रालयले मातहत प्रशासन कार्यालयहरूलाई निर्देशन भने दिने गरेको छैन्।













