चन्द्रागिरिमा प्याराग्लाइडिङ गर्ने पर्यटक बढे, कति लाग्छ शुल्क?
थानकोट ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि सुरू गरिएको चन्द्रागिरि-चित्लाङ प्याराग्लाइडिङमा पर्यटकको आकर्षण बढेको छ।
हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ’बाबु एड्भेन्चर्स’ले प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो।
चन्द्रागिरिमा प्याराग्लाइडिङको व्यवसायिक उडान सुरू भएसँगै पर्यटकहरू पनि साहसिक पर्यटनमा आकर्षित भएका हुन्। भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरि डाँडाबाट प्याराग्लाइडिङ उडान सुरू हुन्छ। चन्द्रागिरि-२३०० मिटरबाट सुरू भएको उडान त्यहाँबाट आकासमा सय मिटरसम्म उचाइ लिन्छ।
अप्रतिम दृश्यहरूको अवलोकन गर्दै समुद्र सतहबाट १७ सय मिटर उचाइ रहेको चित्लाङमा प्याराग्लाइडिङको अवतरण हुने बताउँछन् प्रशिक्षक पाइलट सुनुवार। प्याराग्लाइडिङ उडानका क्रममा भालेश्वर मन्दिरको एरियल भ्युका साथै काठमाडौं उपत्यकाको अधिकांश भू-भागको अवलोकन गर्न सकिन्छ। रसुवा र धादिङका भूभाग समेत देख्न पाइने उडानबाट मकवानपुरको टिस्टुङ, पालुङ लगायत मानव निर्मित इन्द्रसरोवर तालको समेत आकर्षक दृश्यावलोकन गर्न सकिन्छ।
मौसम खुलेको बेला उत्तरतर्फ देखिने फराकिलो हिमश्रृंखलाले पर्यटकहरूलाई मोहित पार्छ।
उनले उडान अवधि १५ देखि २० मिनेट भनेपनि २० देखि २५ मिनेटसम्म आकाशमा चराझैँ उडेर रमाइलो गर्न सकिने बताए। यो काठमाडौं शहरबाट छोटो दूरीको प्याराग्लाइडिङ स्थल हो।
उडानमा चुनौति भन्दा बढी रमाइलो रहेको बताए। उडान गर्नेहरूका लागि पिकअपको लागि सोह्रखुट्टे र कलंकीमा पुग्नुपर्नेछ। समय र मौसमअनुकुल प्याराग्लाइडिङको मज्जा लिन सकिने उनको भनाइ छ। एयरपोर्टबाट एकदमै सुरक्षित ठाउँ र यो रुटमा कुनै उडान नहुने भएकाले पनि सुरक्षित स्थान रहेको बताए।
६ वर्षदेखिको दौडधुपले काम सफल भएकोमा खुशी लागेको बताए। उडानका लागि अहिले ६ जना पाइलट रहेको र आवश्यकताअनुसार बढाउँदै लैजाने पनि बताए।
सुरूवाती एक महिनाको लागि फोटो भिडियोसहित नेपालीलाई अहिले आफ्नै सवारी साधनबाट आउनेलाई ७ हजार २ सय र कम्पनीकै सवारी साधनमा आउनेलाई ८ हजार रूपैयाँ लाग्ने बताए। त्यस्तै फोटो भिडियोसहित विदेशी नागरिकलाई पनि हाललाई १२ हजार तोकेको बताए। मौसमले साथ दिएसम्म ३० देखि ४० जनाले दिनमा प्याराग्लाइडिङ गर्नसक्ने बताए।
उनका अनुसार अहिलेसम्मको लगानी डेढ करोड भन्दा बढी रहेको छ।
यता प्याराग्लाइडिङ गर्न पुगेका सर्वसाधारण नागरिकहरू भने चित्लाङ पर्यटकका लागि उचित स्थल भएकाले प्याराग्लाइडिङले थप पर्यटन प्रवर्द्धन गर्न मद्दत पुग्ने बताउँछन्। सर्वसाधारण मदन खड्काले चन्द्रागिरिबाट चित्लाङ प्याराग्लाइडिङ गर्दा पर्यटनका साथै रमाइलो अनुभव गर्न सकिने बताए।
उनले भने, ‘साथीहरूसँग रमाइलो लाग्छ। चित्लाङ पर्यटकका लागि राम्रो छ। त्यसअनुसार अहिले यसरी सहजै चन्द्रागिरिबाट चित्लाङ जान राम्रो हुन्छ।’
त्यस्तै प्याराग्लाइडिङ गर्न चन्द्रगिरी पुगेका नेपाल प्रहरीका सहायक हवल्दार सुवास कुमारले प्याराग्लाइडिङ गरिसकेपछि कुरा गर्दै रमाइलो लागेको अनुभव सुनाए। उनले सरकारले पर्यटन प्रवर्द्धनका लागि आवश्यक काम र पहलकदमी गर्नुपर्ने बताए।













