कार्त्तिक महिनामा घट्यो घरजग्गा कारोबार
थानकोट ।
कात्तिक महिनामा घरजग्गाको कारोबार घटेको छ ।
दशैं-तिहार जस्ता चाडपर्व एकै महिनामा पर्न जाँदा सार्वजनिक बिदा धेरै हुँदा र नागरिकहरु पनि ‘फेस्टिभ मुड’ मा रहँदा घरजग्गाको कारोबारमा कमी आएको हो ।
गत आर्थिक वर्षमा असोजमा चाडपर्व परेकोले कारोबार घटेकोमा चालु आर्थिक वर्षमा भने कात्तिकमा कारोबार घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ ।
कात्तिकमा जग्गाको कारोबार घटेसँगै राजस्व पनि घटेको हो । असोजमा २६ हजार ४६ वटा लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
गत आर्थिक वर्षको कात्तिक महिनामा २७ हजार ९३९ लिखत पारित भएकोमा यो वर्षको कात्तिकमा २६ हजार ४६ लिखत पारित भएको छ । दशैं र तिहार पर्वको दुवै बिदा कात्तिकमा नै परेकोले पनि यो वर्ष कात्तिकमा घरजग्गाको कारोबार घटेको हो ।
साउनमा ३९ हजार २६३ लिखत पारित हुँदा भदौमा ३५ हजार ६८६ लिखत पारित भएको थियो । यस्तै असोजमा ३९ हजार ८८१ लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । कात्तिकमा भने घटेको हो ।
गत आर्थिक वर्षको पहिलो चार महिनामा १ लाख २२ हजार २८२ लिखत पारित भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १ लाख ४० हजार ८७६ वटा लिखत पारित भएको थियो ।
घरजग्गाको कारोबार घटेसँगै राजस्व संकलनमा समेत कमी आएको आएको छ । कात्तिक घरजग्गा कारोबारको सेवा कर, रजिस्ट्रेशन दस्तुर र पूँजीगत समेत २ अर्ब १६ करोड ३१ लाख ६१ हजार राजस्व संकलन भएको छ ।
काठमाडौंको कलंकी र चाबहील मालपोतबाट क्रमशः १३ करोड १८ लाख २० हजार र १२ करोड ४४ लाख ८३ हजार राजस्व संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।













