चन्द्रागिरिमा मंसिर ९ गतेबाट ६ करोड रूपैयाँ लागतको ‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ पार्क सञ्चालनमा आउने
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नंं-७ घुमाउनेमा मंसिर ९ गतेबाट ‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ पार्क सञ्चालनमा आउने भएको छ ।
करिब १८ महिनाको तयारीपछि नेपालकै हालसम्मकै सबैभन्दा ठूलो दाबी गरिएको सो एम्यूजमेन्ट (मनोरञ्जन स्थल) पार्क सञ्चालनमा आउन लागेको हो ।

५ रोपनी क्षेत्रफलमा रहेको चार तल्ले भवनको तीन वटा तल्ला रमाइला थ्रीडी आर्ट तथा विभिन्न आकृतिहरुको भरिएका छन् ।
जहाँ बालबालिकादेखि पाका उमेरका व्यक्तिले पनि ती कलाको अवलोकन गर्दै २-३ घण्टा सजिलै बिताउन सक्छन् ।
एउटै घरमा बसेर प्राकृतिक सौन्दर्यदेखि संसारका विभिन्न दृष्यसँग रमाउन सकिने यस एम्यूजमेन्ट पार्कका सञ्चालक हुन् सुमन पुन र उनकाे टीम ।
रोजगारीको सिलसिलामा करिब २ दशक विदेशमा बिताएका पुनको अनुभव तथा सोंचमा सो एम्यूजमेन्ट पार्क तयार भएको हो । हालसम्म यस एम्यूजमेन्टमा ६ करोड रूपैयाँ खर्च भइसकेको पुनको दाबी छ ।
सपनामा जस्तै देखिने दृश्य कलाकृति मार्फत पस्किन ध्येयले सञ्चालक पुन तथा उनको समुहले यस पार्कको नाम ड्रिम वर्ल्ड एम्यूजमेन्ट जुराएको छ । जसले सपनाको विश्व भन्ने दर्शाउँदछ ।
पुनले थ्रीडी म्युजिएमका लागि ३ जना कलाकार जम्मा गरेर पेन्टिङहरु बनाउन शुरु गरेका थिए । बीचमा केही समय रोकिएको कामले गति लिएपछि एम्यूजमेन्ट पार्क सञ्चालनमा आउन लागेको हो ।

पछिल्लो समय चन्द्रागिरि नगर क्षेत्र स्वदेशी तथा विदेशी नागरिकहरूका लागि घुम्ने प्रमुख गन्तव्य भइरहेको सन्दर्भमा यस म्यूजियममा पुगेपछि छुट्टै आनन्द मिल्ने पुन तथा उनको टीमको दाबी छ ।
चन्द्रागिरि हिल्स तथा त्रिभुवन स्मारक (पार्क) मा समय व्यथित गर्न आउने जुनसुकै उमेर समुहका व्यक्तिहरूका लागि पार्क राम्रो गन्तव्य हुने अपेक्षा व्यवस्थापनले लिएको छ ।
कम्पनीले हाल प्रत्यक्ष १२ जनालाई रोजगारी दिएको बताइएको छ । सो संख्या पूर्ण रूपमा पार्क संचालन हुँदा बढ्नेछ ।
एम्यूजमेन्ट पार्कमा रेस्टुरेन्ट तथा नेपालका दुर्लभ तथा पुराना तस्बिरहरूको प्रदर्शनी कक्ष समेत सञ्चालन हुनेछन् ।
पार्कभित्र छिरेपछि एउटा नौलो र छुट्टै संसारको अनुभूति गर्न सकिन्छ ।
सञ्चालक पुनका अनुसार विदेशमा धेरै प्रयोगमा आए पनि नेपालमा भित्र्याएको थ्री डी आर्ट म्युजियममा मानिसलाई छुट्टै संसारमा गएको अनुभूति हुन्छ । प्रेमसँग सम्बन्धित कला तथा आकृतिले भरिपूर्ण यसस्थलमा मानिसको सबै तनावलाई मुक्त गरेर आनन्द दिन सक्छ ।
जहाँ थ्री डी स्टुडियो, थ्री डी आर्ट, बटर फ्लाइ विङ्स, बबल रूम, लाइट रूम, लगायतको अनुभव गर्न पाइनेछ।
थानकोट चेकपोष्टबाट करिब १ किलोमिटरको दूरीमा रहेको यस एम्यूजमेन्ट पार्क चन्द्रागिरि केबलकारको बटम स्टेशन नजिकै रहेको छ ।














