नागढुंगा सुरुङ मार्गको मुख्य सुरुङ खन्न अब २ सय मिटर बाँकी
थानकोट ।
चन्द्रागिरि तथा धुनिवेशीं नगरमा राष्ट्रिय गाैरवको आयोजनाका रूपमा निर्माणाधीन नागढुङ्गा सुरूङ अब ‘ब्रेक थ्रु’को चरणमा प्रवेश गरेको छ ।
आयोजनाले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार यो सुरुङको ‘ब्रेक थ्रु’का लागि अब २००.६० मिटर मात्र खन्न बाँकी रहेको छ । यहाँ कुल २ हजार ६८८ मिटर लामो सुरुङ मार्ग बन्दैछ । जसमध्ये २ हजार ४८७ मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।

आयोजनाका निर्देशक नवीनमान श्रेष्ठका अनुसार यस आयोजनाको रेस्क्यू टनेलको भने ‘ब्रेक थ्रु’ भइसकेको छ । यहाँ २ हजार ५५७ मिटर लामो रेस्क्यू टनेल रहेको छ । जसको ७ अगष्ट २०२३ का दिन ‘ब्रेक थ्रु’ भएको हो । टनेलको कुल भौतिक प्रगति ९६.४० प्रतिशत पुगेको छ । अब ३.६० प्रतिशत मात्र भौतिक प्रगति बाँकी रहेको आयोजनाले जनाएको छ ।
यो आयोजनाको अध्ययन सन् २०१४ मा भएको हो । सन् २०१६ मा स्रोत सुनिश्चित भएपछि सन् २०१७ मा डिजाइनको काम सुरु भएको थियो । जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले यस आयोजनामा काम गरिरहेको छ ।
नागढुङ्गा सुरुङमार्गको डिजाइन जापान सरकारको सहयोगमा भएको हो । कर बाहेक साढे १३ अर्ब रुपैयाँमा यो आयोजनाको ठेक्का लागेको हो । यो सुरुङमार्गलाई त्रिभुवन राजपथसँग जोड्न २.८७ किलोमिटर पहुँचमार्ग समेत बनिरहेको छ । सुरुङसम्म पहुँचमार्गका लागि गुर्जुधारा चोकनजिकै र सुरुङको मुख नजिकै २ वटा फ्लाइओभर समेत सँगै बनिरहेका छन् ।
गुर्जुधारा नजिकको फ्लाइओभर ६ सय १० मिटर लामो हुनेछ ।
सुरुङमार्ग र पहुँचमार्गसमेत गरी कुल लागत भने २२ अर्ब भन्दा माथिको हो ।












