नेपालको पहिलो केबलकार सेवा मनकामना केबलकार २६ औं वर्षमा

Thankot Times

थानकोट ।

मनकामना दर्शन प्रा. लि. द्वारा सञ्चालित नेपालकै पहिलो केबलकार २६ औं वर्षमा प्रवेश गरेको छ ।

आज मंसिर ८ गतेदेखि मनकामना केबलकार २५ वर्ष पुरा गरी २६ औं वर्षमा प्रवेश गरेको हो ।

२०५५ साल मंसिर ८ गतेबाट नियमित सञ्चालनमा आएको केबलकारले हालसम्म करिब २ करोड जना यात्रुहरूलाई सेवा प्रदान गरिसकेको जनाएको छ ।
सञ्चालन पश्चात् मनकामना क्षेत्र र त्यस आसपासका क्षेत्र एक प्रमुख पर्यटकीय गन्तव्य बनेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित कुरिनटार (चेरेस)मा प्रवेशद्वार (बटम स्टेसन) रहेको यस केबलकार चढेर गोरखाको शहीद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न यात्रुहरू जाने गर्छन् ।

दर्शनार्थीहरुको चाप बढेसँगै केबलकारको क्षमता विस्तार र डिजिटलाइज गरिएको छ ।

अहिले केबलकारको ३४ डब्बा (गन्डोला) ले यात्रु र तीन वटाले सामग्री तथा खसीबोका बोक्ने गरेको छ ।

मनकामना दर्शनका लागि प्रत्येक दिन औसतमा चार हजार दर्शनार्थीले मनकामना केबलकार चढ्ने गरेको मनकामना दर्शन प्रालिले जनाएको छ।

मनकामना दर्शन प्रालिले केबुलकार अवस्थित चितवनको ईच्छाकामना गाउँपालिका र गोरखाको शहिद लखन गाउँपालिकामा प्रत्येकलाई कूल आम्दानीको १ दशमलव १ प्रतिशत रकम व्यावसायिक सामाजिक उत्तरदायित्व अनुसार शिक्षा, स्वास्थ्य, धार्मिक, मठ, मन्दिरको जीर्णोद्धारलगायत विकास निर्माणका कार्य आदिमा खर्चिँदै आएको छ ।
कम्पनीले भूकम्प तथा कोभिड जस्ता प्राकृतिक तथा अन्य विपत्तका समयमा राहत वितरण तथा सहयोग गर्दै आएको छ ।

अघिल्लो २५ औँ वार्षिक उत्सवको अवसरमा केबलकार पूर्ण रूपले डिजिटल प्रणालीमा रूपान्तरण भई देशकै पहिलो डिजिटल केबलकार प्रणाली भएको छ ।

मनकामना केबलकारको टप स्टेशन हातानजिकै मनकामना दर्शन प्रालिले हाल चार तारे स्तरको ‘रिसोर्ट बाई मनकामना केबलकार’ समेत निर्माण गरिरहेको छ । होटलको सन् २०२४ को अन्त्यसम्ममा निर्माण भइसक्ने प्रक्षेपण गरिएको मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिनुभयो । होटल ४० कोठाको हुनेछ।

यसैबीच मनकामना केबलकारको प्रवर्द्धक मनकामना दर्शन प्रालि आर्थिक वर्ष (२०७९/८१) मा पर्यटन व्यवसाय विधामा सर्वाधिक कर तिर्ने संस्थाको रूपमा सम्मानित भएको छ ।

कर दिवसका अवसरमा बिहीबार आन्तरिक राजश्व विभागले आयोजना गरेको सम्मान कार्यक्रममा अर्थ मन्त्री डा. प्रकाशशरण महतले मनकामना दर्शन प्रालिलाई समेत सम्मान गरेका थिए ।

मनकामना दर्शन प्रालिले गत वर्षपनि सोही विधामा सबैभन्दा बढी कर तिरेर सम्मानित भएको थियो ।

कर दिवसः संस्थागत बढी कर तिर्नेमा नेपाल टेलिकम अगाडि, पर्यटन व्यवसायमा मनकामना दर्शन प्रा.लि


Leave a Reply

Your email address will not be published. Required fields are marked *