कर दिवसः संस्थागत बढी कर तिर्नेमा नेपाल टेलिकम अगाडि, पर्यटन व्यवसायमा मनकामना दर्शन प्रा.लि
थानकोट ।
आन्तरिक राजश्व विभागले कर दिवसको अवसर पारेर विभिन्न १६ विधाका व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले गत आर्थिक वर्ष (२०७९/८०) मा सर्वाधिक कर तिर्ने व्यक्ति तथा समूहलाई आज (बिहीबार) बिहान विभागले आयोजना गरेको कार्यक्रममा सम्मान गरेका हुन् । सम्मानित भएका व्यक्ति तथा संस्थालाई मन्त्री महतले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
संस्थागततर्फ बढी आय नेपाल टेलिकमले तिरेको छ । वस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपरमार्केटले सर्वाधिक कर तिरेको भन्दै सरकारले सम्मान गरेको छ । व्यक्तिगत आयबाट धेरै कर तिर्ने उद्यमीमा हिमालय डिस्टिलरी लिमिटेडका अध्यक्ष विजयबहादुर शाह सम्मानित भएका छन् । वित्तीय संस्थाका तर्फबाट ग्लोबल आईएमई, रेमिट्यान्स कम्पनी आईएमईले पनि सर्वाधिक कर तिरेको छ ।
बीमा व्यवसायमा लाइफ इन्सुरेन्स कर्पोरेसन, स्वास्थ्य तथा शिक्षामा नेपाल नोबेल मेडिकल कलेज, पर्यटन व्यवसायमा मनकामना केबलकारको प्रवर्द्धक मनकामना दर्शन प्रालि तथा वस्तु व्यापारको कारोबार भाटभटेनी सुपरमार्केटले सर्वाधिक कर तिरेको छ।
मनकामना दर्शन प्रालिले गत वर्षपनि सोही विधामा सबैभन्दा बढी कर तिरेर सम्मानित भएको थियो ।
मध्यम स्तरीय करदातामा नेपाल स्टक एक्सचेन्ज, ऊर्जामा भोटेकोसी पावर कम्पनीलाई पनि सम्मान गरिएको छ।
तस्बिरः वीरेन्द्रश्रेष्ठको फेसबुकबाट












