श्रीमान जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाणपत्र बनाएर ४५ हजार झ्वाम पारेपछि….

Thankot Times

थानकोट ।

जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाण पत्र बनाएर एकल महिलाको भत्ता दिने कार्यक्रममा संलग्न दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापस्थित मन्थली नगरपालिका– ३ का तत्कालीन वडा सचिव शिव कुमार महत्तो र जीवित श्रीमानकी पत्नी निर्मला खत्रीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । महतोले निर्मला खत्रीको श्रीमानको मृत्यु भए/नभएको आधिकारिकता नबुझी एकल महिलाको भत्ता वितरण गरेको अभियोग अख्तियारको छ ।

अख्तियारको प्रेस विज्ञप्ती पढ्नुहोस्

आयोगका प्रवक्ता भोला दाहालका अनुसार तत्कालीन वडा सचिव महतोले सूचनाको आधिकारिकता सम्बन्धमा कुनै छानबिन नगरी, कानुन बमोजिम पेस हुनुपर्ने कागजातहरु समेत संलग्न नराखी जीवित व्यक्तिको नाममा मृत्यु दर्ता पत्र बनाइदिएका थिए । त्यतिमात्रै होइन उनले खत्रीको सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचय पत्र बनाउन समेत फारम भरिदिएका थिए । उक्त एकल महिला परिचय पत्रको आधारमा खत्रीले ४५ हजार दुई सय २० रुपैयाँ लिइसकेको आयोगको अनुसन्धानबाट खुलेको छ ।

आयोगले महतो र खत्रीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदावी लिएको छ । महतोले जीवित व्यक्तिको मृत्यु भएको भनी कार्यालयमा रहेको मृत्यु दर्ता अभिलेख चढाएको र खत्रीको एकल महिला परिचय पत्रको गलत लिखत तयार गरी गराएको भन्दै उनलाई मतियार कायम गरी मुख्य कसुरदारलाई हुने सजाय सरह सजाय हुन मागदाबी लिएको जानकारी प्रवक्ता दाहालले दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *