सुरूङमा फसेका ४१ मजदुरको १७ दिनपछि सकुशल उद्धार
थानकोट ।
भारतको उत्तराखण्डस्थित उत्तरकाशी सुरूङमार्गमा फसेका ४१ मजदुरको सकुशल उद्धार भएको छ।
कात्तिक २६ गते बिहान ५ बजे उत्तरकाशी-यमुनोत्री राष्ट्रिय राजमार्गको सिलक्यारादेखि डन्डालगाउँसम्म निर्माणधीन सुरूङको सिलक्यारा खण्डमा पहिरो जाँदा ४१ मजदुर सुरूङमै थुनिएका थिए।
उनीहरूको १७ दिनपछि हिजो उद्धार भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि एक्स (ट्वीटर)मा लेख्दै सबै मजदुरहरूको सकुशल उद्धार भएको बताएका छन्।
४ हजार ५३१ मिटर लामो सुरूङको सिल्क्यारातर्फ २ हजार ३४० मिटर र बडकोटतर्फ १ हजार ६ सय मिटर निर्माण भइसकेको थियो।
पहिरो छिचोल्न ड्रिलिङ मेसिन प्रयोग गरिएको थियो।
उद्धार गरिएको सबैलाई स्थानीय अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको र उनीहरूको स्वास्थ्य सामान्य रहेको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।
सुरूङबाट उद्धार गरिएका उनीहरूलाई जनही १/१ लाख रूपैयाँ दिने भारत सरकारले निर्णय गरेको छ। त्यस्तै उनीहरूलाई आफ्ना परिवारहरूसँग समय बिताउन १५ दिनदेखि १ महिनासम्मको छुट्टी दिन सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिएको छ।












