काठमाडौं महानगरले भन्यो: प्लास्टिकका क्रिसमस-ट्री राख्न पाइँदैन !

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका क्रिसमस-ट्री राख्न निषेध गरेको छ।

बिहीबार महानगरपालिकाले महानगर क्षेत्रभित्र कुनै पनि प्लास्टिकका क्रिसमस-ट्री सजावट गरी वा बिक्रीवितरण गरेको पाए जफत गर्ने महानगर प्रहरी बलका नगर प्रहरी उपरीक्षक विष्णु जोशीले जानकारी दिए।

उनका अनुसार अहिले विभिन्न सपिङ मलमा प्लास्टिकका क्रिसमस-ट्री राखेर सजावट गरेको पाइएको छ।

‘पहिले दसैंतिहार लक्षित अनुगमन गर्दा महानगरले प्लास्टिकका फूलमाला प्रयोग गर्न नपाइने भनेको थियो,’ उनले भने, ‘अहिले पनि प्लास्टिकका सामग्री प्रयोग गरी सजावट गर्न पाइँदैन।’

यस्तै, प्लास्टिकका कुनै स-सामान प्रयोग गरी सरसजावट गरेको पाइए उक्त सामान जफत गरिने उनले बताए।

प्लास्टिकका स-सामान प्रयोग गर्नुको सट्टा बत्ती प्रयोग गरी वा सक्कल बिरूवा प्रयोग गरी सर-सजावट गर्न जोशीले अनुरोध गरेका छन्। यस्तै सजावटका सामग्री पनि प्लास्टिकजन्य प्रयोग गर्न नपाइने उनले बताए।

‘आज हामीले भाटभटेनीमा सजावट गरिरहेको प्लास्टिकको क्रिसमस-ट्री हटाएका छौं,’ उनले भने, ‘यस्ता प्लास्टिकजन्य सजावटको महानगर क्षेत्रभित्र कहीँकतै राख्न पाइँदैन।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *