थानकोट क्षेत्रमा फुटबल खेल विकास तथा प्रवर्द्धनका लागि कोष स्थापना
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोट क्षेत्रमा फुटबल खेल विकास तथा प्रवर्द्धनका लागि फुटबल विकास कोष खडा गरिएको छ ।
शनिबार बिहान स्थानीय फुटबल खेलाडी, जनप्रतिनिधि तथा स्थानीय खेलप्रेमीहरूको उपस्थितिमा फुटबल विकास कोष स्थापना गर्ने निर्णय भएको बताइएको छ ।
स्थानीय स्तरमा फुटबल खेलको विस्तार एवं प्रतिभा पहिचानका लागि सो कोषको स्थापना गरिएको नगर प्रवक्ता एवं चन्द्रागिरि नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो ।
सो छलफलमा स्थानीय खेलाडीहरूले विगतमा फुटबल विकासका लागि कुनै व्यवस्थित कोष वा समुह नहुँदा भोग्नुपरेको समस्या समेतको मध्यनजर गर्दै अब व्यवस्था हुने कोषको माध्यमबाट थानकोट क्षेत्रमा फुटबल खेल खेल्न र प्रतिभा पहिचान गर्नका लागि सहयोग पुग्ने धारणा राखेका थिए । सो क्रममा जनप्रतिनिधिहरूले फुटबल विकास कोषमार्फत स्थानीय प्रतिभा पहिचान तथा फुटबल खेलका गतिविधिलाई चलायमान बनाउन वडा कार्यालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
छलफलमा नगरप्रवक्ता एवं वडाध्यक्ष खड्गीले वडा क्षेत्रको फुटबल खेलको विकासका लागि खडा भएको कोष यथासिघ्र कार्यविधि बनाई सञ्चालनमा ल्याउने बताउनुभयो ।
चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोटले गत साता चन्द्रागिरि नगरपालिकामा सम्पन्न अन्तर वडा कप फुटबल प्रतियोगितामा पहिलो स्थान हासिल गरेको थियो । सो प्रतियोगिता जितेबापत प्राप्त नगद पुरस्कारको केही हिस्सा समेत थानकोट फुटबल विकास कोषमा बचत गरिने भएको छ ।














thats the great start for the new generation hope to see further