थानकोट खरिबोट सडक दुर्घटना प्रकरणः थानकोट-नागढुंगा सडक खण्ड अवरूद्ध
थानकोट ।
कलंकी-नागढुंगा सडक खण्डअन्तर्गत शुक्रबार दिउँसो भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएपछि स्थानीयहरूले थानकोट तथा नागढुंगा क्षेत्रमा सडक अवरूद्ध पारेका छन् ।
दोषीलाई यथासिघ्र कारबाही तथा पीडितलाई न्यायोचित क्षतिपूर्तिको माग गर्दै स्थानीयले सडक अवरूद्ध गरेका हुन् । स्थानीयहरूले दुर्घटनामा संलग्न कन्टेनरको व्यवस्थापन पक्ष अहिलेसम्म सम्पर्कमा नआएको भन्दै सडकमा प्रदर्शन गर्न बाध्य भएको बताएका छन् । प्रहरीले भने सम्बन्धित पक्षलाई सम्पर्कमा ल्याउने प्रयास जारी रहेको बताएको छ ।
स्थानीयबासीहरूले दुर्घटनास्थल थानकोट खरिबोट र नागढुंगा चोकमा भेला भएर सडक अवरूद्ध गरिरहेका छन् ।
सडकमा नै सवारी साधन तेर्स्याएर स्थानीयहरू विरोधमा उत्रिएपछि प्रहरीले अवरूद्ध सडक खुलाउने प्रयास गरिरहेको छ ।
दुर्घटनामा घाइते चन्द्रागिरि नगरपालिका-२ नागढुंगा निवासी अस्मिता भण्डारीको उपचारका क्रममा मृत्यु भएको छ भने उनका श्रीमान श्रीधर भुर्तेलको उपचार भइरहेको छ ।
थानकोटबाट नागढुंगातर्फ जाँदै गरेको बा ८८ प ७९५५ नम्बरको स्कुटरलाई सोही दिसातर्फ गइरहेको प्रदेश ३-०१-००६ ख १३०८ नम्बरको कन्टेनरले ठक्कर दिएको थियो ।

थानकोट खरिबोटमा भयानक सवारी दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान घाइते












