चार लेनमा विस्तार भइरहेको नागढुंगा-मुग्लिन सडक कालोपत्रको तयारी

Thankot Times

थानकोट ।

चार लेनमा विस्तार भइरहेको नागढुंगा-मुग्लिन सडकमा केही दिनभित्रै कालोपत्र गरिने भएको छ। नागढुंगा-मुग्लिन सडक विस्तार आयोजनाले रिटेनिङ वालको काम सकिएका ठाउँमा यही महिनादेखि कालोपत्र गर्न लागेको हो।

आयोजना प्रमुख ईश्वर रिजालले रिटेनिङ वाल लगाइएका स्थानमा कालोपत्र गर्ने तयारी पूरा भइसकेको बताए।

‘हामीले यसअघि नै कालोपत्र गर्ने तयारी गरेका थियौं। तर सानो-सानो खण्ड भएकाले केही अप्ठेरो भएको थियो,’ उनले भने, ‘कालोपत्रको काम सुरु गर्न हामीलाई रेटेनिङ वालको काम सकिएको एउटा सेक्सन ५ किलोमिटर चाहिन्छ। अब यस्ता सेक्सन तयार भएका छन्। त्यसैले कालोपत्रे गर्ने काम यो महिनाको अन्तिमबाट सुरु गर्न लागिएको हो।’

नागढुंगादेखि मलेखुसम्मको सडकमा रिटेनिङ वालको काम सकिइसकेको छ। तर कालोपत्र नगरिएका कारण यो सडक भएर ओहोरदोहोर गर्नेले निकै सास्ती झेल्नुपरिरहेको छ।

रिजालका अनुसार सुरुमा नागढुंगा-नौबिसे खण्डको नौबिसेदेखि खत्रीपौवासम्म ८ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी छ। निर्माण व्यवसायीले साइटमा आवश्यक सामग्री ढुवानी गर्न थालिसकेका छन्।

दोस्रो प्याकेजमा नौबिसे-मलेखु खण्डको १५ किलोमिटर र तेस्रो प्याकेजमा मलेखु-मुग्लिन खण्डको ७ किलोमिटर सडक कालोपत्र गर्ने तयारी छ। तर तीन वटा प्याकेजमा ३० किलोमिटर कालोपत्रको काम फटाफट भने हुने छैन। आयोजनाले असारसम्म कालोपत्र गर्ने योजना बनाएको छ।

‘कालोपत्र गर्न साइटको कन्डिसन, निर्माण सामग्रीको उपलब्धता, इक्‍विपमेन्ट लगायत कुरा हेर्नुपर्ने हुन्छ। त्यसैले ३० किलोमिटर सडक असारसम्म कालोपत्र गर्ने योजना छ,’ उनले भने।

विश्‍व बैंकको १९ अर्ब रुपैयाँ ऋण सहयोगमा तीन वर्षमा सक्ने गरी सडक विस्तारको काम भइरहेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *