अवैध हिरासहित फर्पिङबाट भारतीय नागरिक पक्राउ
थानकोट ।
अवैध हिरासहित काठमाडौंको दक्षिणकाली नगरपालिका-५, फर्पिङबाट एकजना पक्राउ परेका छन् ।
करिब तीन लाख २७ हजार ३३९ रुपैयाँबराबरको हिरासहित भारतको पश्चिम बंगालका ४४ वर्षीय सञ्जय मैतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौंको सुन्धारामा बस्दै आएका उनलाई गए राति पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
उनी वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ५४७७ नम्बरको सुमोमा सवार थिए । जाँच गर्ने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
भन्सार छली ल्याएको उक्त धातु सुनचाँदी व्यवसायी संघबाट परीक्षण गर्दा हिरा भएको पुष्टि गरिएको प्रहरीले जनाएको छ ।













