‘ओभरटेक’ गर्ने क्रममा मोटरसाइकल गाडीमा ठोक्कियो, चालकको ज्यान गयो
थानकोट ।
काभ्रेको पाँचखालमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
बिहीबार बिहान साढे आठ बजे पाँचखाल नगरपालिका-६ हनुमानगढीस्थित अरनिको राजमार्गमा प्रदेश ३- ०१-००५ ख ९७०३ नम्बरको डिब्बा गाडिले ठक्कर दिँदा बा ८७ प ६४१ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा काभ्रेकै पनौती नगरपालिका-१२ घर भएका ३४ वर्षीय रुपक खत्रीको घटनास्थलमै मृत्यु भएको हो।
तीव्र गतिमा रहेको मोटरसाइकलले सडकमा गुडिरहेको नम्बर नखुलेको बसलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई विपरित दिशाबाट आउँदै गरेको प्रदेश ३-०१-००५ ख ९७०३ नम्बरको डिब्बा गाडिमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा खत्रीको ज्यान गएपछि स्थानीयले सडक समेत अवरूद्ध गरेका थिए। प्रहरीले घटनास्थलको मुचुल्का गरिरहेको कार्यालयले जनाएको छ। ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।













