यःमरि पुन्हिका अवसरमा चन्द्रागिरि नगरमा यःमरि बनाउने प्रतियोगिता हुँदै
थानकोट ।
परम्परागत नेवारी खाना प्रवर्द्धन गर्ने उद्देश्यका साथ यःमरि पुन्हिका अवसरमा चन्द्रागिरि नगरमा यःमरि बनाउने प्रतियोगिता सञ्चालन हुने भएको छ ।
किपुल्चा नेवाः खलको आयोजनामा पुस १० गते चन्द्रागिरि नगरपालिका-५ महादेवस्थान किसिपिडीमा वडा स्तरीय यःमरि प्रतियोगिता हुने बताइएको छ ।
स्थानीय लाछी टोलमा सञ्चालन हुने प्रतियोगिता दिउँसो १ बजे सुरु हुनेछ । प्रतियोगिताका विजेताले नगद पुरस्कार तथा प्रमाणपत्र पाउने किपुल्चा नेवाः खलका बुद्धरत्न नकर्मीले जानकारी दिनुभयो ।
किपुल्चा नेवाः खलले विगत तीन वर्षदेखी यःमरि बनाउने प्रतियोगिता आयोजना गर्दै आएको छ ।
योमरी पुन्हीका रुपमा स्थापित धान्य पूर्णिमा नेवारी समुदायको एक प्रमुख चाड हो ।
यस अवसरमा ज्यापू महागुठीले विभिन्न उत्सव, गुठी तथा पूजाआजा गर्ने परम्परा छ । उत्सवमा धानको कोठी, भकारी राखी पूजा गरेर योमरी चढाउने र त्यसलाई प्रसादका रुपमा खाने-खुवाउने चलन छ ।
नयाँ चामलको पिठोभित्र चाकु र तिल हालेर योमरी बनाइन्छ । यसलाई गणेश र कुमारको प्रतीकको रुपमा पनि पूजा गरिन्छ । यस दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ ।
०६१ सालमा तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको थियो ।
फाइल तस्बिरः फोटोखिचुवा













