‘हाइक टू इन्द्रस्थान’ को तयारी तिव्र, ५ सय जनाले सहभागिता जनाउने अपेक्षा

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका-१ दहचोकको आयोजना हुने पैदल यात्राको तयारी तिव्र बनाइएको छ । 

चन्द्रागिरि हाइकर्स कम्युनिटिसँगको सहकार्यमा यहि पाैष १४ गते शनिबार आयोजना हुने सो पैदल यात्रा कार्यक्रमका बारेमा जानकारी दिन सोमबार इन्द्रस्थानमा आयोजित पत्रकार सम्मेलन सम्पन्न भएको छ। 

सो पत्रकार सम्मेलनमा चन्द्रागिरि नगरपालिका वडा नं. १ दहचोकका वडाध्यक्ष हरिश्याम रानामगर, चन्द्रागिरि वडा नं. ४ का वडाध्यक्ष एवं नगर प्रवक्ता कृष्णप्रसाद खड्गी तथा चन्द्रागिरि हाइकर्स कम्युनिटीका अध्यक्ष प्रशन्न गोपालीले आगामी शनिबार आयोजना हुने पैदल यात्रा कार्यक्रमका बारेमा प्रकाश पारेका थिए । 

चन्द्रागिरि हाइकर्स कम्युनिटीका अध्यक्ष प्रशन्न गोपालीका अनुसार करिब ३ महिनाको तयारीपछि हाइकिङ आयोजना हुन लागेको हो ।

करिब १५ किलोमिटर दुरीको सो पैदल यात्रा कार्यक्रम शनिबार बिहान ७ बजे स्थानीय घट्टेडाँडाबाट सुरु भइ खहरे बजार, झिंगटी घर, मयलपानी, तीनपोखरी, विन्द्यवासिनी मन्दिर, स्वीजरल्याण्ड पार्क, धैरेनी डाँडा (हेभन डाँडा), झाँगाझिटी, फरेष्ट क्याम्प हुँदै कालु पाँडे समाधिस्थलमा पुगि सकिनेछ । उनका अनुसार पैदल यात्राका क्रममा पैदल मार्गका दायाँ बायाँ भेटिएका प्लाष्टिकजन्य फोहोर संकलनका लागि विशेष तयारी भइरहेको छ ।

स्थानीय मयलपानी धार्मिक क्षेत्र, धैरेनी डाँडा (हेभन डाँडा), झागाँझिटीको तामाङ बस्तीको प्रचार प्रसारका लागि पनि सो पैदल यात्रा पहिलो खुड्किलोको रूपमा लिइएको धारणा राख्दै चन्द्रागिरि १ का वडाध्यक्ष रानामगरले स्थानीय महिलाहरूको अग्रसरतामा उत्पादित सामाग्रीहरू समेत सो क्रममा प्रदर्शनी एवं विक्रीको तयारी भइरहेको समेत जानकारी दिए । स्वस्थ मुस्कानको लागि पैदलयात्रा-२०८० नाम दिइएको सो कार्यक्रम सफल बनाउन उनले सबैमा आग्रह गरेका छन् ।  

चन्द्रागिरि वडा नं. ४ का वडाध्यक्ष एवं नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले नगरबासीहरूमा पैदल यात्राको संस्कृति विकास गर्न नगरले पैदल यात्रा कार्यक्रमलाई प्रोत्साहन गरिरहेको बताउँदै चन्द्रागिरि नगरपालिकालाई पर्यटकीय गन्तव्य बनाउने नगरको अभियानमा सो पैदल यात्रा फलदायी हुने विश्वास लिएको धारणा राखे । नगरमा नियमित रूपमा पैदल यात्रा कार्यक्रम आयोजना गरी आय आर्जनको बाटोमा लग्ने बारेमा समेत गृहकार्य भइरहेको जानकारी दिँदै नगरप्रवक्ता खड्गीले स्थानीय क्षेत्रको चिनारीका  लागि यस खालका पर्यटकीय गतिविधि बढाउनुपर्नेमा जोड दिए । 

सो पैदल यात्रामा सहभागिताका लागि प्रति व्यक्ति पाँच सय रूपैयाँ लाग्ने आयोजकको भनाइ छ । सहभागीहरू सबैका लागि इन्द्रस्थानमा खानाको व्यवस्था गरिनेछ । 

चन्द्रागिरि हाइकर्स कम्युनिटिले यसअघि जेठ २० आयोजना गरेको थानकोटबाट भालेश्वर डाँडासम्मको पैदल यात्रामा ६ सय जना भन्दा धेरै सहभागि भएका थिए ।

चन्द्रागिरि हाइकर्स कम्युनिटिले पाैष १४ गते हुने पैदल यात्रामा करिब ५ सय जनाले सहभागिता जनाउने अपेक्षा गरेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *