सहिद दिवस र चैते दशैंमा सार्वजनिक बिदा दिने सरकारको निर्णय, जनयुद्ध दिवस मनाउने निर्णय बदर
थानकोट ।
सरकारले सार्वजनिक बिदा २ दिन थप गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सहिद दिवस र चैते दशैंमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
‘वि.सं २०८१ सालमा दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गर्ने निर्णय भएको छ। कार्यालय समय साविकमा जे थियो त्यही नै व्यवस्था छ।’ मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले भनिन्, ‘सार्वजनिक बिदामा साविकका बिदा यथावत राखेर माघ १६ गते शहीद दिवस र चैते दशैं (रामनवमी) को बिदा थप गरिएको छ।’
सर्वोच्च अदालतले १ फागुनमा जनयुद्ध दिवस मनाउने सरकारको निर्णय बदर गरेको छ । जनयुद्ध शब्दमा राष्ट्रिय सहमति बनिनसकेको र संक्रमणकालीन न्यायका काममा संलग्न संस्थाको भावी काममा समेत प्रभाव पर्नसक्ने सर्वोच्चको ठहर छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले २९ माघ २०७९ मा १ फागुनमा जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
त्यसविरुद्ध परेको रिटमा न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले बृहत शान्ति सम्झौता, संविधानका साथै संक्रमणकालीन न्यायसम्बन्धी संसदमा विचाराधीन विधेयकमा टेकेर त्यसलाई बदर गरेको छ ।














