न्यु डायमण्ड स्पोर्ट्स क्लबका भलिबल खेलाडीले चन्द्रागिरि नगरको लोगो अंकित जर्सी लगाएर खेल्ने

थानकोट ।

हेटाैंडामा गत सोमबार सम्पन्न केशवलाल स्मृति कप महिला भलिबल प्रतियोगितामा उपविजेता बनेको चन्द्रागिरि नगरपालिका नैकापस्थित न्यु डायमण्ड स्पोर्ट्स क्लबका खेलाडी तथा पदाधिकारीलाई चन्द्रागिरि नगरपालिकाले सम्मान गरेको छ ।

बुधबार नगरमा आयोजित एक समारोहका बीच नगर प्रमुख घनश्याम गिरीले सो टोलीको सम्मान गरेका हुन् ।

महिला भलिबल खेलाडीहरूको सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख गिरीले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत ख्याती कमाइरहेका भलिबल खेलाडी उत्पादनमा क्लबले पुर्याएको योगदानको कदर गर्दै नगरले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सो क्रममा नगरप्रमुख गिरीले चन्द्रागिरि नगरपालिकाले वडागत रूपमा तथा हरेक विद्यालयहरुमा सो क्लबको संयोजनमा महिला भलिबलको प्रशिक्षण सुरु गर्ने कुरा जानकारी गराउँदै अन्य खेलकुद गतिविधिहरूमा पनि नगरले गच्छेअनुसार सहयोग गरिरहेको बताए ।
खेलाडी सम्मान कार्यक्रममा चन्द्रागिरि नगर उप प्रमुख बसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, सामाजिक विकास समिति संयोजक घनश्याम लुइटेल, शिक्षा तथा खेलकुद शाखा प्रमुख तथा अन्य कर्मचारी तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा न्यु डायमण्ड स्पोर्ट्स क्लबका तर्फबाट मुख्य प्रशिक्षक कुमार राई, सहायक प्रशिक्षक दिनेश श्रेष्ठ तथा व्यवस्थापक किरण कार्कीको पनि उपस्थिति रहेको बताइएको छ।

न्यु डायमण्ड स्पोर्ट्स क्लबको जर्सीमा अब चन्द्रागिरि नगरको लोगो
नेपाली महिला भलिबल खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको न्यु डायमण्ड स्पोर्ट्स क्लबको महिला भलिबल टोलीलाई चन्द्रागिरि नगरपालिकाले खेल सामाग्री प्रायोजन गर्ने भएको छ।
चन्द्रागिरि नगरपालिका कार्यपालिकाको बैठकले चालु आर्थिक वर्षमा नैकापस्थित न्यु डायमण्ड महिला भलिबल टोलीले सहभागिता जनाउने  जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगितामा “चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिम” को नामसहित सहभागिता जनाउने र उक्त प्रतियोगितामा खेलाडीहरुको लागि आवश्ययक खेलकुद सामग्री र अन्य व्यवस्थापन चन्द्रागिरि नगरपालिकाले गर्ने निर्णय गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *