काठमाडौं महानगरभित्र सञ्चालित पेट्रोल पम्पहरूको अध्ययन गर्न समिति गठन
थानकोट ।
काठमाडौं महानगरभित्र सञ्चालनमा रहेका पेट्रोल पम्पहरूको अध्ययन गर्न महानगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीको संयोजकत्वमा ७ सदस्यीय समिति समेत गठन गरिएको छ।
उक्त समितिमा नेपाल आयल निगम, उपत्यका ट्राफिक प्रहरी कार्यालय, सडक विभाग, जिल्ला प्रशासन कार्यालय, पेट्रोलियम डिलर्स एशोसिएसन र रिपुमर्दिनी पेट्रोल पम्प भद्रकालीका प्रतिनिधि रहेका छन्।
बिहीबार महानगरमा बसेको बैठकले उक्त निर्णय गरेको हो।
पेट्रोल पम्पहरूको निरीक्षण गरेर तत्काल सुधार गर्नुपर्ने काम र निश्चित अवधिमा सुधार गर्नुपर्ने कामबारे अध्ययन गरेर समितिले ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने महानगरपालिकाले जनाएको छ।
यस्तै, महानगरपालिकाले पेट्रोल पम्पहरूमा शौचालय सञ्चालनमा ल्याउन अनुरोध गर्ने भएको छ।
बैठकले पम्पहरूले शौचालय सञ्चालनमा नल्याएको भए ४५ दिनभित्र सञ्चालनमा ल्याउनुपर्ने निर्णय गरेको हो।
यस्तै, महानगरपालिकाले गत वैशाखमा पेट्रोलियन पदार्थ बिक्री मापदण्ड पूरा नगरेको वडा नम्बर १६ बालाजुमा रहेको कोतः धुकु आयल स्टोरमा शिलबन्दी गरेको थियो। नेपाल आयल निगमका अनुसार ‘पेट्रोलियम पदार्थ बिक्रेता नियमावली २०७५ (प्रथम संशोधनसहित)’ को मापदण्ड नपुगेका कारण तत्काल स्थानान्तरण गर्नुपर्ने महानगरपालिकाभित्रका १६ वटा पम्पको सूचीमा उक्त पम्प समेत परेको महानगरपालिकाको भनाइ छ।
महानगरका अनुसार सहरभित्र पेट्रोल पम्पमा आगलागीजन्य विपदको जोखिम रहेको, सवारी साधन तथा पैदल यात्रुको आवागमनमा समस्या परेको गुनासो आउने गरेका छन्।
यस्तै पेट्रोल पम्पहरू मापदण्ड अनुसार सञ्चालन भएका छैन कि छैनन् भनेर समेत समितिले निरीक्षण गर्ने महानगरपालिकाले बताएको छ।













