आरती कपिराइट सम्बन्धी भाइरल सूचनामा हाम्रो संलग्नत छैनः पशुपति क्षेत्र विकास कोष

Thankot Times

थानकोट ।

पशुपति क्षेत्र विकास कोषले पशुपतिमा हुने आरती तथा दीप प्रज्वलनको भिडिओमा डिजिटल कपिराइट लगाउने भन्दै प्रकाशित सूचनामा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोषले आफ्नो स्वीकृतिमा बुढासुब्बा डिजिटलले सूचना निकालेको जनाएकाे हाे ।

कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले हस्ताक्षर गरेको विज्ञप्तिमा बुढासुब्बाले सहमति बिना लोगो र नाम राखिएकाे तथा स्वीकृतिबिना सूचना निकालिएको उल्लेख छ । 

”बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिच्न सख्त मनाही छ, यहाँ खिचिएका भिडिओ सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराइट ऐन अन्तर्गत कारबाही हुने जानकारी गराउँदछौं भन्ने सूचना विभिन्न सामाजिक सञ्जालमा प्रकाशित भएकोप्रति कोषको गम्भीर ध्यानाकर्षण भएको छ,” पशुपति क्षेत्र विकास कोषको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अगाडि भनिएकाे छ, ”उक्त सूचनामा कोषको लोगो प्रयोग गरी कोषको नाम समेत राखी सूचना प्रकाशित भएकोमा कोषको असहमति रहेको छ । उक्त सूचना प्रकाशितप्रति कोषको कुनैपनि संलग्नता नरहेको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौं ।”

”सहमतिबिना लोगो राखिएको र स्वीकृतिबिना सूचना निकालिएको छ,” टेकपानासँग कुरा गर्दै काेषकी निर्देशक पुनले भनिन्, ‘भदौमा बुढासुब्बासँग कपिराइट सम्बन्धमा सम्झौता भएको हो । तर, हिजो सार्वजनिक भएको सूचनामा हाम्रो सहमति छैन । हामी बाँकी जानकारी कोषको सञ्चालक परिषदको बैठकपछि गराउँछौं ।”

पशुपति आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरतीको भिडिओ कपिराइट बुढासुब्बा डिजिटलले मासिक एक लाख ६० हजार रुपैयाँमा खरिद गरेको समाचार बाहिरिएपछि यसकाे आलाेचना भइरहेकाे छ । यो सम्झौतापछि कसैले व्यावसायिक प्रयोजनका लागि सो क्षेत्रको भिडिओ खिचेर युट्युबसहितका सामाजिक सञ्जालमा राखे बुढासुब्बाले कपिराइट लगाउने उल्लेख गरेकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *