कमला कार्की स्मृति प्रतिष्ठानद्वारा विभिन्न व्यक्तित्वहरू सम्मानित
थानकोट ।
कमला कार्की स्मृति प्रतिष्ठानले चन्द्रागिरि नगरपालिकामा बसाेबास गर्ने विभिन्न क्षेत्रका राष्ट्रिय ख्याति प्राप्त व्यक्तिहरूलाई सम्मान गरेकाे छ।
प्रतिष्ठानले शुक्रबार चन्द्रागिरि नगरपालिका नैकापस्थित ब्राइट फ्यूचर माविमा एक समारोह आयोजना गरी चन्द्रागिरिमा बसाेबास गर्ने ख्याति प्राप्त महिला, राष्ट्रिय खेलाडी, महिला पत्रकार र महिला कलाकारलाई सम्मान गरेको हाे।
प्रतिष्ठानको नवाैं स्मृति दिवसका अवसरमा उनीहरूलाई १० हजार १ नगद र ताम्रपत्रबाट सम्मान गरेको थियो। सम्मानित व्यक्ति तथा संस्थाहरूलाई पूर्व मन्त्री, साहित्यकार भद्रकुमारी घलेले सम्मान गरेकी थिइन् ।
सम्मान प्राप्त गर्नेमा अन्नपूर्ण पोष्टमा कार्यरत पत्रकार ममता थापा, दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्न सफल महिला कराँते खेलाडी अन्जली महर्जन, मिस नेपाल २०२० तथा कलाकार नम्रता श्रेष्ठ रहेका छन्।
सो क्रममा प्रतिष्ठानले चन्द्रागिरि नगरपालिका-१४ र १५ का सबैभन्दा ज्येष्ठ महिलाहरूलाई पनि सम्मान गरेको छ। कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नं. १४ निवासी ९७ वर्षीय धनमाया महर्जन तथा चन्द्रागिरि नगरपालिका वडा नं.१५ निवासी ९३ वर्षीय भगवती खत्री समानित भएका छन् । दुवै जना ज्येष्ठ नागरिकहरू जनही १० हजार १ रूपैयाँ तथा ताम्रपत्रबाट सम्मानित भए ।
संस्थातर्फ तीनथाना बाजा खल सम्मानित भएको छ । बाजा खल नगद १ लाख १ रूपैयाँ तथा ताम्रपत्रबाट सम्मानित भएको हो।
सम्मान कार्यक्रममा काठमाडाैं क्षेत्र नं. ९ का संघीय सांसद् कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य केशव पोखरेल, चन्द्रागिरि नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू लगायतको उपस्थिति थियो।
प्रतिष्ठानले विगत ९ वर्षदेखि राष्ट्रिय ख्याति कमाएका महिला तथा महिलासँग सम्बन्धित रहेर काम गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको प्रतिष्ठानका अध्यक्ष समाजसेवी मोहनकुमार कार्कीले जानकारी दिए ।


















