थानकोट-चित्लाङ्ग सडकको दुरावस्था, १० वर्षमा साढे २ किलोमिटर पक्की, ५ सय मिटर पिच गर्ने तयारी

Thankot Times

थानकोट ।

थानकोटबाट चन्द्रगिरि, चित्लाङबाट कुलेखानीहुदैँ हेटौंडा पुग्ने गणेशमानसिंह मार्ग आयोजनाको दुरावस्था अहिले पनि उस्तै छ ।

करिब १० वर्षदेखि निर्माणाधिन रहेको सडकखण्डमा सरकारले पर्याप्त बजेट छुट्याउन नसक्दा वर्षेनी सवारी दुर्घटनाबाट मानिसले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था पनि छ सडक दुरावस्थाकै कारण केही दिन अघि एकै परिवारका ५ जनाले ज्यान गुमाएका थिए ।

चन्द्रागिरि वडा नं ४ को पानीघाट नजिक हिमचुली सेतोपहरामा चिकित्सक सृष्टी तिवारीले आफ्नो परिवारका पाँच जना गुमाउनु भएको थियो । सडक डिभिजन काठमाडौं अन्तर्गत पर्ने यो सडकखण्ड बजेट नहुँदा अलपत्र परेको हो ।

मुस्किलले सम्म भाग भेटिने यसै सडकमा पनि दैनिक ५ सयभन्दा बढी सवारीसाधन ओहोरदोहोर हुँदा सडक बिग्रिएर दुर्घटना पर्ने गरेको सवारी चालकहरुको भनाइ छ ।

केही दिन अगाडि एक जना चिकित्सको परिवारै रित्तिने गरी भएको दुर्घटनापछि सो सडकको दुरावस्था बारे बहस सुरु भएको छ । चालु आर्थिक वर्षमा चिकित्सकको परिवार सहित ९ जनाले यहि सडक दुर्घटनामा परेर ज्यान गुमाइसकेको ट्राफिक प्रहरीको तथ्याङकमा छ ।

सो सडकमा साना ठूला गरी २१ वटा दुर्घटना भइ सकेको छ । वैकल्पिक मार्गको रुपमा प्रयोग गरिदै आएको यो सडकखण्डको नाम गणेशमानसिंह मार्ग हो । जहाँ हेटौंडा, विरगञ्ज, पालुङ, बज्रवारही, चित्लाङ जाने सवारी साधनहरु गुड्ने गरेका छ । बाटो ओरालो भिरालो मात्र होइन सडकमा वीचमा परेका ठूला ठूला खाडलले गर्दा जो कोहीलाई यो सडकमा सवारी गुडाउन हम्मे हम्मे पर्ने गरेको छ ।

यो त्यही सडक हो जुन राणा कालमा गाडी बोकेर ल्याइएको थियो । ऐतिहासिक सडकलाई २०७० सालमा सरकारले गणेशमानसिंह मार्ग राखेर थानकोट-चित्लाङ सडक आयोजना स्थापना गर्‍यो । सरकारले आयोजना घोषणा गरेर डिपिआरसम्म तयार गर्‍यो तर त्यसपछि कसैले वास्तै नगरेपछि सडकको यो हविगत भएको हो ।

सडक डिभिजनले केहि समय अघि पनि अर्थ मन्त्रालयलाई पत्र पठाँउदै ८ करोड रुपियाँ बजेट विनियोजन गर्न भनिएको थियो तर, हालसम्म पनि कुनै प्रतिक्रीया मन्त्रालयबाट नआएको डिभिजन प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

केहिदिन अघिमात्रै, चित्लाङ–थानकोट सडकको स्तरोन्नतिप्रति चासो देखाउँदै मकवानपुरमा जनप्रतिनिधि र दलका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा सामूहिक रुपमा भेटेर मकवानपुरका जनप्रतिनिधि र दलका नेताहरुले सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा आठदेखि १० करोड रुपियाँ बजेट थप गर्न माग गरेका हुन् । थानकोटदेखि चित्लाङसम्म २२ किलोमिटरको दुरी रहेको यो सडकमा जम्मा सांढे २ किलोमिटरमात्र पिच छ ।

केहि भागहरु, ढलान भएतापनि बाटो निकै डरलाग्दो र जोमिख युक्त रहेको छ ।

अहिले डिभिजनले सडक निर्माणका लागि ठेकेदार कम्पनीसँग २ करोडमा सम्झौता गरेको छ जस अनुसार, ५ सय मिटर पिच गर्ने तयारीमा रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *