परिश्रमी साकोसले दिने थाङ्का लेखन तालिममा १२ जनाको सहभागिता
थानकोट ।
परिश्रमी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरूका लागि थाङ्का तालिम दिन सुरु गरेको छ ।
आत्मनिर्भरताको लागि सहकारी भन्ने नाराका साथ स्थापना भएको थानकोटस्थित सो सहकारीले गत शनिबारबाट तीन महिने थाङ्का तालिम सुरु गरेको संस्थाका व्यवस्थापक मोहनलाल डाँगीले जानकारी दिए ।
तालिम कार्यक्रममा १८ देखी ३५ वर्ष उमेर समुहका १२ जना महिला तथा पुरुष सहभागी भएका छन् ।
उनीहरूका लागि ललितकला प्रतिष्ठानका कला प्रशिक्षक अशोक लामाले प्रशिक्षण दिनेछन् भने दिलिप लामाले सहयाक प्रशिक्षकका रूपमा थाङ्का कोर्न सिकाउनेछन् ।
सो तालिम कार्यक्रम चन्द्रागिरि नगरपालिका-४ थानकोटमा सञ्चालन हुनेछ ।
संस्थाका सदस्यहरूलाई स्वरोजगार तथा उद्यमी बनाउने ध्येयले थाङ्का बनाउने तालिम दिन सुरु गरिएको संस्थाका अध्यक्ष एवं चन्द्रागिरि वडा नं.४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गीले बताए ।
थाङ्का नेपालका तामाङ, शेर्पा तथा गुरुङ जातिहरू तथा तिब्बती परम्परागत चित्रकला हो।
यो नेपाली हस्तकलाको विविध विधा मध्ये एक मौलिक कला हो। यो चित्रकला नेवार जातिहरू परम्परागत चित्रकला पौभासँग मिल्दोजुल्दो हुन्छ। यो चित्र लेखन कार्य सूती कपडामा गरिन्छ। सूती कपडालाई काठको फ्रेममा कसी सपेता र सरेस मिलाएर पोतिन्छ। सपेता र सरेस सुकेपछि चिल्लो काठको फलेकमा राखेर पानीले भिजाई ढुङ्गाले घोटिन्छ। यो क्रम धेरै पटक दोहोर्याएपछि मिहिन चिल्लो भई लेख्न योग्य हुन्छ। थान्कामा विशेष गरेर बुद्धका चित्रहरू बढी मात्रामा कोरिएको पाइन्छ। यो थान्का लेखन कला नेपाल बाहेक विशेष गरी चीन, जापान, कोरिया मंगोलिया आदि देशहरूमा रहेको छ। यो एक प्रकारको चित्र लेखन भए तापनि सामान्य चित्र लेखनभन्दा यो फरक रहेको छ।













