थानकोट-चित्लाङ सडकको निरीक्षणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वाला चन्द्रागिरिमा

Thankot Times

थानकोट । 

संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले थानकोट-चित्लाङ सडक (गणेशमान सिंह मार्ग) को स्थलगत निरीक्षण गरेका छन् ।

बुधबार साँझ मन्त्री ज्वाला चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, नगरका प्रवक्ता एवं चन्द्रागिरि नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गीसहित समेत सो सडकको सेतो पहरा खण्ड निरीक्षणमा पुगेका थिए । 

सो क्रममा मेयर गिरीले सडक मार्गको वस्तुस्थितिको जानकारी गराउँदै यथाशिघ्र स्तरोन्नतिको लागि मन्त्रालय स्तरबाट नै पहल हुनुपर्नेमा जोड दिएको नगरप्रमुखको सचिवालयले जनाएको छ । 

साना सवारी साधनको अत्यधिक चाप रहेको सो सडकमा लगातार सवारी दुर्घटना हुँदा सर्वत्र चासो र चिन्ता व्यक्त भइरहेको अवस्थामा अर्थ मन्त्रालयले सो सडकको स्तरोन्नतिका लागि चालु आवका लागि ७ करोड ९९  लाख रूपैयाँको स्रोत सुनिश्चितता दिएको छ । 

उक्त सडक हेर्ने डिभिजन सडक कार्यालय काठमाडौंले चालु आर्थिक वर्षका लागि २२ करोड रुपैयाँ माग गरे पनि २ करोड रुपैयाँमात्र पाएको थियो ।

अनुगमन र निरीक्षणपछि मन्त्री ज्वालाले बजेटको सुनिश्चितता भइसकेपछि स्तरोन्नतिले तीव्रता पाउनुपर्ने बताए ।

रौतहट चन्द्रपुर, बारा निजगढ, पर्सा वीरगञ्ज, मकवानपुर हेटौंडा र थाहा नगरलगायत स्थान जाने छोटो दुरीको मार्ग चन्द्रागिरि सडकमा दैनिक हजारौं यात्रु जोखिम मोलेर हिँड्ने गरेका छन् ।

सरकारले थानकोट–चन्द्रागिरि–चित्लाङ सडक खण्डमा धराप थापेको भन्दै सवारी चालक, यात्रु र स्थानीयले विरोध गर्दै आएका थिए ।

डिभिजन सडक कार्यालय काठमाडौं प्रमुख नारायणदत्त भण्डारीका अनुसार थानकोट–चन्द्रागिरि–चित्लाङ सडक खण्डको २२ किलोमिटरमध्ये चार किलोमिटर अत्यन्तै जोखिमपूर्ण उकालो छ ।

२८ पुसमा काठमाडौंबाट थानकोट-चन्द्रागिरि हुँदै चित्लाङ गइरहेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ