सतुगंलमा सहायक हवल्दारको मृत्यु प्रकरणः घटना छानबिन गर्न एसएसपीको नेतृत्वमा छानबिन समिति

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका १२ बलम्बुस्थित प्रहरी प्रभाग बलम्बुमा कार्यरत सहायक हवल्दारको प्रहरीको भ्यानबाट खसेर मृत्यु भएको घटनामा छानबिन थालिएको छ ।

सहायक हवल्दार हेमराज एलजीको शंकास्पद मृत्युबारे  छानबिन गर्न उपत्यका प्रहरी कार्यालयले समिति गठन गरेको हो ।

प्रहरी वरिष्ठ उपरिक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको उपत्यका प्रहरी कार्यालयका एआईजी दिपक थापाले बताए । समितिमा उपत्यका प्रहरी कार्यालयका एसपी मिलन केसी र जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अनिल अधिकारी सदस्य छन् ।

चन्द्रागिरि नगरपालिका-११ सतुगंलस्थित बल्खु पुलमा गएराति प्रहरीको भ्यानबाट खसेर घाइते भएका सहायक हवल्दार एलजीको उपचारको क्रममा मृत्यु भएको थियो । राति सवा ११ बजेमा प्रहरीको बा.१ झ ७४१८ नम्बरको भ्यानको पछाडीको भागबाट उनी सडकमा खसेका थिए ।

मृतक सहायक हवल्दार सुर्खेत गुर्भाकोट नगरपालिका–१२ सुवाकोटका स्थानीय हुन् ।

नियमित चेकिङ ड्युटी सकेर फर्किने क्रममा डेरा नजिकै ओर्लिन खोज्दा गाडीबाट खसेर उनको टाउकोमा चोट लागेको थियो । प्रहरी भ्यानका चालक सहायक हवल्दार रामप्रसाद यादव प्रहरी नियन्त्रणमा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *