चन्द्रागिरि भञ्ज्याङमा रहेको चित्लाङ भ्यु टावर थाहा नगर मातहत सञ्चालन हुने
थानकोट ।
बागमती प्रदेश सरकारले दृश्यावलोकनका लागि निर्माण गरेको भ्यूटावरहरु स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।
यससँगै थाहा नगरपालिका वडा नम्बर-९ स्थित चन्द्रागरि भञ्ज्याङ नजिकै निर्माण भएको भ्यूटावर (हिलस्टेशन) थाहा नगरलाई हस्तान्तरण गर्ने भएको छ ।
प्रदेश सरकारले चित्लाङको चन्द्रागिरि भन्ज्याङमा दुई करोड ९९ लाख ४१ हजार ८७३ रुपैयाँको लागतमा हिल स्टेशन निर्माण सम्पन्न गरेको हो । प्रदेश सकारको पर्यटकीय पूर्वाधारको प्रभावकारी सञ्चालन, दिगो व्यवस्थापन र समुचित उपयोगका लागि कार्यविधि निर्माण गरेर सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने अन्तिम तयारीमा लागेको हो ।
एक साताभित्र अर्थ मन्त्रालयबाट पर्यटन पूर्वाधार सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७९ को मस्यौदा सहमतिका लागि स्वीकृत भएर आईसक्ने आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशका प्रशासन महाशाखा प्रमुख रमेश पौडेलले जानकारी दिएको थाहापाटीमा खबर छ ।
संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयलले पर्यटन पूर्वाधार सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७९ को मस्यौदा सहमतिका लागि ९ साउन मै आर्थिक मामिला तथा योजना मन्त्रालय पठाएको छ ।
मस्यौदा स्वीकृत भएर आउनेबित्तिकै सम्बन्धित पालिकालाई हस्तान्तरण गरिने पौडेलले जानकारी दिए ।
स्थानीय तहले व्यवस्थापन गर्न नसके निजी क्षेत्रलाई र वन क्षेत्रमा बनेका भ्यूटावर सम्बन्धित सामुदायिक वनलाई व्यवस्थापनको जिम्मेवारी दिने प्रस्तावित कार्यविधिमा प्रावधान छ ।
कार्यविधिको मस्यौदामा पर्यटन पूर्वाधार वा सम्पदा परिसर प्रवेशमा लाग्ने शुल्क लगायत स्थानीय तहले तोके बमोजिम हुने र निजी क्षेत्रको हकमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी शुल्क निर्धारण गर्न सकिने उल्लेख छ ।
पूर्वाधारको सेवा शुल्कबाट प्राप्त रकमको कम्तिमा १० प्रतिशत पर्यटन पूर्वाधार वा सम्पदाको संरक्षण, प्रवद्र्धन र विकासमा खर्च गरिनुपर्ने व्यवस्था छ ।
बागमती प्रदेशका नौ जिल्लामा करीब २४ करोड लगानीमा कम्तीमा एक-एक वटा भ्यूटावर निर्माण सम्पन्न भएका छन् ।













