मातातिर्थ ल्होंखामा १२ वर्षे शिकाली नाचको चहलपहल
थानकोट ।
भोलि फागुन ७ गते चन्द्रागिरि नगरपालिका-८ मातातिर्थ ल्होंखामा खोकनाको ऐतिहासिक रुद्रायणी (कालि देवी) देवीको १२ वर्षे दबु नाच देखाइँदैछ ।
खोकनाबाट चन्द्रागिरि आउन लागेका देवगणहरूको आज साँझ कीर्तिपुरको जलविनायकस्थित चोभारमा स्वागत हुने कार्यक्रम रहेको श्री रुद्रायणी (श्री काली) दबु नाच समितिका अध्यक्ष धर्मनन्द श्रेष्ठले जानकारी दिए ।
देवगणहरू आज दिउँसो खोकनाबाट चोभार, कीर्तिपुर, मच्छेगाउँ हुँदै मातातीर्थसम्म पैदल नै आउनेछन् । उनीहरूको स्वागतमा मातातिर्थबाट दबु नाच समितिका प्रतिनिधिहरू सहित स्थानीयहरू साँझ चोभार पुग्ने कार्यक्रम ।
साँझ मातातिर्थ ल्होंखा आइपुगेका देवगणले छोटो नाच देखाउनेछन् ।
देवगणले भोलि फागुन ७ सोमबार बिहान १० बजेबाट मातातिर्थस्थित ल्होंखा दबुमा शिकाली नाच देखाउन सुरु गर्ने तालिका रहेको अध्यक्ष श्रेष्ठले बताए ।
उनका अनुसार पराम्परागत सांस्कृतिक नाचका लागि तयारी सकिएको छ ।
फागुन ८ गते मंगलबार सो देव गणलाई बिदाई गरिने रुद्रायणी दबु नाच समितिले जनाएको छ । पछिल्लो पटक वि.सं. २०६८ सालमा सो नाच देखाइएको थियो ।

तस्बिरः कीर्तन प्रधान












