चन्द्रागिरि-८ मातातिर्थ ल्होंखामा आज ऐतिहासिक १२ वर्षे शिकाली नाच देखाइने
थानकोट ।
आज फागुन ७ गते चन्द्रागिरि नगरपालिका-८ मातातिर्थ ल्होंखामा खोकनाको ऐतिहासिक रुद्रायणी (कालि देवी) देवीको १२ वर्षे दबु नाच देखाइँदैछ ।
हिजाे आइतबार खोकनाबाट पैदल हिंडेको देवगणसहितकाे टाेली अबेर राति मातातिर्थ आइपुगेको छ ।
आइतबार चन्द्रागिरि आउन लागेका देवगणहरूकाे टाेलीलाई ठाउँठाउँमा स्थानीयहरुले भव्य स्वागत गरेकाे श्री रुद्रायणी (श्री काली) दबु नाच समितिका अध्यक्ष धर्मनन्द श्रेष्ठले जानकारी दिए ।
देवगणहरूकाे टाेली आइतबार दिउँसो खोकनाबाट चोभार, कीर्तिपुर, मच्छेगाउँ हुँदै मातातिर्थसम्म पैदल नै आइपुगेकाे हाे । उनीहरूको स्वागतमा मातातिर्थबाट दबु नाच समितिका प्रतिनिधिहरूसहित बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन, चन्द्रागिरि नगरका जनप्रतिनिधिहरु लगायत स्थानीयहरू खटिएका थिए ।
ललितपुर महानगरपालिका खोकनामा रहेको रुद्रायणी देवी मन्दिरको गुठियार (सिकाली नृत्यसँग सम्बन्धित गुठीयार) ले ल्होंखामा रहेको दबुमा देखाउने छन् । नाच बिहान १० बजेबाट सुरु हुने बताइएको छ।
कसरी सुरु भयो यो नाच देखाउने परम्पराः काठमाडौं उपत्यकाको दक्षिणी भेगमा अवस्थित पुरानो नेवाः बस्ती खोकनामा मनाइने रुद्रायणी देवीको जात्रा (सिकाली नाच) हरेक १२ वर्षमा खोकना बाहिर पुग्ने गरेको छ । पन्ध्रौँ शताब्दीमा तत्कालीन राजा अमर मल्लले रुद्रायणी देवीको मन्दिरको स्थापना गर्न लगाउनुभएको किंवदन्ती रहेको छ । वर्षको दुईपटक सिकाली देवीको जात्रा गर्ने परम्परा रहेको छ । उक्त जात्रामा ४६ देवगणको पूजाआजा गर्ने तथा जाभु (भ्वज) खुवाउने परम्परा पनि निरन्तर चलिआएको बताइएको छ ।
प्रत्येक १२ वर्षमा मात्र बाहिर आउने देवगणहरूले जात्राका क्रममा १४ देवीदेवता रुद्रायणी, भैरव, कुमारी, गणेश, ब्रह्मा, विष्णु, महादेव, इन्द्रायणी, बाराही, चामुण्डा काली, महालक्ष्मी, कुमार, हनुमान र शक्तिकुमार) को नाच देखाइन्छ । यसमा नाच्ने मुख्य ४६ जना देवगणमध्ये १४ देवदेवीको भूमिकामा रहन्छन् ।
सृष्टि, स्थिति र संहारका मूलकारिणी रुद्रायणीदेवीको शक्तिको महिमा दर्शाउने यो शास्त्रीय नृत्यको मुख्यभाव देवी र दानवबीचको युद्धलाई दर्शाउनुरहेको चन्द्रागिरि –८ का भुयू महर्जनले जानकारी दिएका छ । उनका अनुसार नृत्यगणमा रुद्रायणी, महादेव, गणेश, कौमारी, इन्द्रायणी, महालक्ष्मी, हनुमान, सनतकुमार, सिंहिनी, ब्याघ्रिनी, ध्वंद्यः (स्याल देवता), खिचा द्यः (कुकुर देवता), महिषासुर दैत्य र यक्ष टोली बाजासहित सरिक हुन्छन् । नृत्य टोलीमा भाग लिने सबै पात्रले मुजा परेको सेतो जामा, भोटो, पटुका, पगडी र थ्यागा (पट्याएको पछ्यौरा) लगाएका हुन्छन् । यो नाच मातातिर्थमा पछिल्लो पटक २०६८ सालमा देखाइएको थियो ।
तस्बिरः न्यूटन महर्जन, आवर कीर्तिपुर













