काकाकुललाई पानी दे भन्दै नागढुङ्गा सुरुङ मार्ग वरपरका स्थानीयहरूले घेरे आयोजनाको कार्यालय
थानकोट ।
राष्ट्रिय गाैरवको आयोजनाका रुपमा निर्माण भइरहेको नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्ग निर्माणस्थल वरपरका स्थानीयहरूले सोमबार चन्द्रागिरि नगरपालिकामा रहेको सुरुङ मार्ग आयोजनाको कार्यालय घेराउ गरेका छन् ।
सुरुङ मार्ग आयोजनाले स्थानीयहरूको समस्या समाधानका लागि तदरुकता नदेखाएको विरोधमा उनीहरूले विरोध र्यालीसहित आयोजनाको कार्यालय घेराउ गरेका हुन् ।
सुरुङ मार्ग निर्माणसँगै परम्परागत पानीका स्रोत सुकेको, घर लगायतका संरचना चर्किएको लगायतका विषयमा स्थानीयहरूले पटकपटक आयोजनालाई ध्यानाकर्षण गराएको भएपनि समस्या समाधानका लागि गम्भीर नभएको स्थानीयको आरोप छ ।
नागढुंङ्गा सिस्नेखोला सुरुङ मार्ग प्रभावित खानेपानी उपभोक्ता समितिको अगुवाइमा भएको सो विरोध र्यालीमा सहभागीहरूले सुरुङ मार्ग निर्माणस्थल वरपरको क्षेत्रलाई प्रभावित क्षेत्र घोषणा गर्नुपर्ने, सो क्षेत्रमा पर्याप्त खानेपानीको व्यवस्था गर्नुपर्ने, खेतीयोग्य जमीनमा सिंचाईको व्यवस्था गर्नुपर्ने, सुरुङ निर्माण गर्दा चर्किएका घरहरूको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, सुरुङ बनेको स्थानमाथिको जमिनका सम्बन्धमा उचित सम्बोधन गरिनुपर्ने, सुरुङ मार्ग प्रभावित क्षेत्रको बासिन्दा लाई रोजागरीको सुनिश्चिता गर्नुपर्ने लगायतका माग नारा लगाउँदै सुरुङ मार्ग निर्माण आयोजनाको फिल्ड कार्यालय घेराउ गरेका हुन् ।
जापान सरकारको सहयोगमा बनिरहेको सुरुङ मार्गको मुल सुरुङ यहि फागुन तेस्रो साता ब्रेक-थु को प्रयास भइरहेको छ ।













