नागढुङ्गा-नाैबिसे सडकले दिएको सास्ती

Thankot Times

थानकोट ।

विश्व बैंकसँगको ऋण साझेदारी नेपाल सरकारले अघि बढाएको ५६ किलोमिटर लामो नागढुंगा-नौबिसे-मलेखु सडक स्तरोन्नतिको कामले द्रुत गति लिन नसक्दा सर्वसाधारणले निकै सास्ती खेप्दै आइरहेका छन्।

सरकारले नागढुंगा-नौबिसे-मलेखु-मुग्लिन सडकलाई तीन खण्डमा बाँडेर ठेक्का अघि बढाएको छ। अहिलेसम्म तीनवटै खण्डको प्रगति भने निराशाजनक देखिएको छ।

नागढुंगा-मुग्लिङ सडक योजना पूर्वी खण्ड गजुरीका योजना प्रमुख ईश्वरबहादुर रिजालले नागढुंगा-नौबिसे र नौबिसे-मलेखु खण्डको सडकको प्रगति उत्साहजनक नभएको बताए।

‘नागढुंगा-नौबिसे सडक खण्डको ४० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ, यो खण्डको १२.२६ किलोमिटर सडक चालु आर्थिक वर्षभित्रै कालोपत्र गर्ने लक्ष्य राखिएको छ,’ उनले भने, ‘यो वर्ष कम्तिमा पनि ७-८ किलोमिटर सडक कालोपत्र हुने आशा गरेका छौं।’

योजना प्रमुख रिजालले निर्माण कम्पनीले सबवेस तयार पार्र्ने काम गरिरहेकाले पनि यो आ.व.मा नागढुंगा-नौबिसे सडक खण्ड स्तरोन्नतिको कामले गति लिने दाबी गरे।

सडक विभाग मातहतको विकास सहायता कार्यान्वयन महाशाखाले नागढुंगा-नौबिसे सडक खण्डको ठेक्का व्यवस्थापनको काम अघि सारेको थियो।

महाशाखाका अनुसार नागढुंगा-नौबिसे खण्डको ठेक्का जियाङ्सुरसगुन जेभीले एक अर्ब ३१ करोड ८४ लाखमा पाएको थियो। योजना कार्यालयका अनुसार पहिलो खण्डको भौतिक प्रगति ४० प्रतिशत भएको छ भने यो सडक खण्डको ठेक्का सम्झौता अनुसार म्याद आगामी जेठ महिनामा सकिँदैछ।

योजना प्रमुख रिजालले यो सडक खण्ड अर्काे आर्थिक वर्षसम्म सकिने दाबी गरेको मंगलबारको नागरिक दैनिकमा खबर छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *