नागढुङ्गा सुरुङ मार्ग ‘ब्रेक थ्रु’ हुन अब १४ मिटर बाँकी, माग सम्बोधन नभएपछि स्थानीय आन्दोलित

Thankot Times

थानकोट ।

नागढुंङ्गा-सिस्नेखोला सुरुङ निर्माणको काम स्थानीयका कारण गत आइतबारदेखि ठप्प छ ।

सुरुङ मार्गको धादिङ र काठमाडौं दुवैतर्फ काम हुन सकेको छैन् ।

मुख्य सुरुङ २.६८८ किमिमध्ये १४ मिटर मात्र खन्न बाँकी छँदा स्थानीयले काम रोकेका हुन् ।

सुरुङ निर्माण थाल्दै गर्दा स्थानीयले राखेका माग सम्बोधन गर्नुपर्नेमा नगरेपछि आक्रोशित भएका चन्द्रागिरि नगरपालिका-२ का अध्यक्ष भाइकृष्ण तामाङले बताए ।

‘दसैंलगत्तै आयोजनाले खानेपानी सहज गर्छौं भनेको थियो, तर अझै गरेको छैन,’ उनले भने, ‘जब कि सुरुङको ९७ प्रतिशत भूभाग यही वडामा पर्छ ।’ सुरुङ निर्माण थालेपछि प्राकृतिक रूपमा रहेका पानीका मुहान सुक्दै गएकाले पिउने र सिँचाइ गर्ने पानीको समस्या भएको तामाङको भनाइ छ । ‘यसको व्यवस्थापन कसरी गर्नेभन्दा आयोजनाबाट ठोस योजना आउन सकेको छैन,’ उनले भने, ‘जसले गर्दा स्थानीय आक्रोशित भएका हुन् ।’ सुरुङ निर्माण थाल्दै गर्दा जमिन भासिँदा के गर्ने भन्दा आयोजनाले भासिँदैन भनेर लिखित प्रतिबद्धता जनाएको थियो । गत असोजमा सुरुङ नजिकै भ्वाङ परेपछि डर थपिएको उनले सुनाए ।

स्थानीयसँग आयोजनाले एक दिन वार्ता गरे पनि त्यसपछि समस्या समाधान गर्न सम्बन्धित पक्षले अहिलेसम्म नबोलाएको उनको आरोप छ । पानी सुकेर समस्या भएकाले काम रोक्नुपरे पनि आफूहरू वार्ताबाट निकास निकाल्न तयार रहेको तामाङको भनाइ छ । प्रक्रियामै रहेका विषयलाई उठाएर स्थानीयले अहिले निर्माण कार्य रोकेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर गोविन्द दुमरुले बताए ।

परामर्शदाताले दुई महिनाभित्र रिपोर्ट बुझाउने आयोजनाको भनाइ छ, इकान्तिपुरमा खबर छ । जमिनको भौगर्भिक अध्ययनको काम पनि भइरहेको जनाइएको छ । ‘काम रोकिएको एक साता हुन लाग्यो । त्यसैले काम गर्न नपाएकाले फागुन २३ मा सुरुङको ब्रेक थ्रु गर्न सकिँदैन,’ आयोजनाकै एक इन्जिनियरले भने, ‘तीव्र गतिमा भइरहेको काममा फेरि पुराना माग निकालेर रोक्ने काम भएको छ । निर्माण रोकिएपछि ठेकेदारले क्षतिपूर्तिसमेत दाबी गर्ने जोखिम छ ।’

पानीको समस्या समाधान गर्न आयोजना लागेकाले काम रोक्न नहुने ती इन्जिनियर बताउँछन् । अहिलेसम्म २६७४ मिटर सुरुङ खन्ने काम सकिइसकेको छ । निर्माण सुरु भएको ५१ महिना बितिसकेको छ । आयोजना सुरु भएयता ३ वटा अन्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल निर्माण भएका छन् । एउटा फ्लाई ओभर निर्माणाधीन छ ।

सुरु सम्झौताअनुसार यसको समयावधि ०८० वैशाखमा सकिएको हो । उक्त समयभित्र काम नसकिएपछि ०८१ वैशाख १३ सम्म म्याद थपिएको छ । सुरुङबाट गाडी सञ्चालन गर्न ०८१ माघ पुग्ने आयोजनाको भनाइ छ । कारण सुरुङ खनिसकेपछि त्यसको फिनिसिङ गर्न थप समय लाग्नेछ । यो सुरुङबाट ग्यास बुलेट, पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र मोटरसाइकल चल्न पाउने छैनन् ।

आयोजना सुरु भएयता १४ अर्ब ६ करोड २ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । गत साउन २२ मा आपत्कालीन उद्धार सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो । २५५७ मिटर दूरी रहेको उक्त सुरुङको अहिले फिनिसिङको काम भइरहेको छ । काठमाडौंको चन्द्रागिरिस्थित टुटीपाखा र धादिङको धुनीबेंसी नगरपालिकास्थित सिस्नेखोलामा सुरुङ निर्माणको काम भइरहेको छ ।

०७६ कात्तिकमा निर्माण थालिएको सुरुङको काम सम्झौताअनुसार ४२ महिनाभित्र सकिनुपर्ने थियो । सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले लिएको हो । निर्माणमा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । ठेक्का भने साढे २२ अर्ब रुपैयाँको हो । यसमा ६ अर्ब रुपैयाँ नेपाल सरकारको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *