चन्द्रागिरिमा १३औंं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन सुरु, प्रिन्स र रसिलाको विजयी सुरुवात

Thankot Times

थानकोट ।

तेह्राैं संस्करणको पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङ्किङ ब्याडमिन्टन प्रतियोगिता सोमबारबाट चन्द्रागिरि नगरपालिका-०७ थानकोट चेकपोष्टस्थित महांकाल ब्याडमिन्टन कभर्ड हलमा सुरु भएको छ ।

प्रतियोगिताको चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले उद्घाटन गर्नुभएको हो । सो क्रममा पूर्व मन्त्री कर्ण बहादुर थापा, चन्द्रागिरि नगरपालिका उपप्रमुख बसन्ती श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको पहिलो दिन नेपालका पहिलो वरियताका प्रिन्स दाहाल र रसिला महर्जनले विजयी सुरुवात गरेका छन् ।

प्रिन्सलाई मोटरसाइकल

१३ औं पुष्पलाल स्मृती राष्ट्रिय र्‍याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताका दौरान राष्ट्रिय ब्याडमिन्टन संघले नेपालका नम्बर १ खेलाडी एवं पूर्व बिश्व जुनियर नम्बर १ खेलाडी प्रिन्स दाहाललाई सम्मान गर्ने भएको छ ।

पुष्पलाल स्मृती राष्ट्रिय र्‍याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको लगातार तीन संस्करणमा विजयी खेलाडीलाई मोटरसाईकलबाट सम्मानित गर्ने पूर्व घोषित निर्णय बमोजिम प्रिन्सलाई सम्मान गर्न लागिएको संघका अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी गराए ।

पिन्सले पुष्पलाल स्मृती ब्याडमिन्टनको १० औं, ११ औं र १२ औं संस्करणमा विजय हात पार्न सफल भएका थिए ।

खेल सामाग्री उत्पादक संस्था लि-निङ्गको मुख्य प्रायोजन रहेको प्रतियोगिता फागुन १९ गतेसम्म जारी रहनेछ । 

नेपाल खेलकुद महासंघ अन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा हुने प्रतियोगितामा विभिन्न १२ विधामा प्रतिस्पर्धा हुने बताइएको छ । 

प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघको शीर्ष ८ वरियतामा रहेका पुरुष र महिलाहरुको एकल, ८औं वरियता देखि बाहेकका पुरुष र महिला एकल, पुरुष र महिला युगल, यू-१७ ब्वाइज र गर्ल्स एकल, भेट्रान्स ४५ वर्ष माथि र मास्टर्स ५५ वर्ष माथिको स्पर्धाका साथ यस पटकको प्रतियोगितामा यू-१३ को ब्वाई र गर्ल्स एकलको थप विधा पनि समावेश गरिएको आयोजक नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ अन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघले जनाएको छ । 

कूल पुरस्कार राशी ७ लाख २३ हजार 

शीर्ष ८ वरियताका खेलाडीहरुको प्रतिस्पर्धा दुई समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा खेलाईने छ । यस विधामा सहभागी प्रत्येक खेलाडीले नगद १५ हजार प्राप्त गर्ने र लिग चरणका प्रत्येक खेलमा जित हात पारे बापत थप नगद १५ सय प्राप्त गर्नेछन् ।

दुई समूहका शीर्ष २ स्थान प्राप्त गर्ने खेलाडीहरुले सेमीफाईनलमा स्थान पक्का गर्नेछन् । फाइनल खेलको विजेता खेलाडीले नगद ५० हजार तथा उपविजेता खेलाडीले नगद ३० हजार र सेमिफाईनलिस्टमा पराजित हुने अन्य २ खेलाडीले नगद करिब १५ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने संघका महासचिव सुनिलमान शाक्यले जानकारी दिए । 

प्रतियोगितामा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले मेडल, ट्रफी र प्रमाण पत्रका साथ शीर्ष ८ वरियता देखि बाहेकको पुरुष एकल र महिला एकलका शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्ने छन् ।

यस्तै पुरुष युगल तर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद ३० हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् । महिला युगल तर्फका शीर्ष तीनले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्ने छन् ।

यू-१७ र यू-१३ विधामा शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद १५ हजार, ८ हजार र ४ हजार तथा भेट्रान तथा मास्टर्सका शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद ३० हजार, १५ हजार र ५ हजार प्राप्त गर्ने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगितामा नेपाल ब्याडमिन्टन महासंघले प्राविधिक सहयोग गर्ने बताइएको छ । महांकाल ब्याडमिन्टन कभर्ड हल प्रतियोगिताको सहआयोजकका रूपमा रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *