चन्द्रागिरिमा जारी पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिता आज सकिँदै
थानकोट ।
चन्द्रागिरि नगरपालिका-७ थानकोट चेकपोष्टस्थित महांकाल ब्याडमिन्टन कभर्ड हलमा जारी १३ औं पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिताका फाइनल खेलहरू आज हुने तालिका रहेको छ ।
प्रतियोगिताको महिला एकल उपाधिका लागि ललितपुरकी रसिला महर्जन र भोजपुरकी नङ्सलदेवी तामाङबीच प्रतिस्पर्धा हुने भएको छ ।
पुरुष एकलतर्फ एपीएफका प्रिन्स दाहाल र ललितपुरका प्रफुल महर्जन पुनः फाइनल भिड्ने भएका छन् ।
मास्टर्स ४५ बर्षमाथिको युगलमा रिभाइभका शुक्र पाख्रिन र भीमबहादुर थापा तथा पिस फिटनेस सेन्टरका सञ्जय कपाली र अनिल थामसुहाङ्गको जोडी उपाधिका लागि भिड्नेछन् ।
आयोजक राष्ट्रिय ब्याडमिन्टन संघले पूर्वघोषणा अनुरुप नेपालका नम्बर एक खेलाडी एवं पूर्व विश्व जुनियर नम्बर एक खेलाडी प्रिन्स दाहाललाई शनिबार मोटरसाइकलसहित सम्मान गर्ने भएको छ ।
संघले पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको लगातार तीन संस्करणको विजेतालाई मोटरसाइकलले सम्मान गर्ने घोषणाअनुरुप यस पटक प्रिन्सलाई सम्मान गर्न लागेको हो । प्रिन्स पुष्पलाल स्मृति ब्याडमिन्टनको १० औं संस्करणदेखि च्याम्पियन छन् ।
प्रतियोगिताको समापन समारोहमा नेकपा एमालेका अध्यक्ष केपी ओली प्रमुख अतिथिका रूपमा चन्द्रागिरि आउँदैछन् । उनी दिउँसो २ बजे कार्यक्रमस्थल आइपुग्ने बताइएको छ । प्रतियोगिताको फागुन १४ गते चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले उद्घाटन गरेका थिए ।
नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ अन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा सञ्चालित प्रतियोगितामा विभिन्न १२ विधामा प्रतिस्पर्धा गराइएको थियो ।












