सैनिक इतिहासः चेकपोष्ट वाणस्थलीका बलबहादुर सिलवालले पनि ‘मिलिटरी क्रस’ पाएका थिए

Thankot Times

थानकोट । 

युद्धभूमिमा दुस्मनविरुद्ध प्रशंसनीय वीरता देखाई काम फत्ते गर्ने बहादुर सैनिकलाई विभूषित गर्नका लागि २८ डिसेम्बर १९१४ देखि बेलायतले मिलिटरी क्रस (एमसी) विभूषणको सुरुवात गर्‍यो। कप्तानदेखि जमदारसम्मका लागि यो विभूषण प्रदान गरिने व्यवस्था थियो। यो विभूषण अर्थात् तक्मा पाउने व्यक्तिलाई राज्यले नै उच्च सम्मान दिने गर्छ।

सैनिक विज्ञानमा ‘मिलिटरी डिस्प्युट’ र ‘मिलिटरी डिप्लोम्यासी’ भन्ने पदावली छन्। ‘मिलिटरी डिस्प्युट’भित्र लडाइँ, भिडाइ, झैझगडा पर्छन् भने ‘मिलिटरी डिप्लोम्यासी’मा लडाइँ, भिडाइ पटक्कै हुन्न र एकअर्कालाई सैनिक, भौतिक, आर्थिक आदि सहयोग लिनेदिने काम हुन्छ।

काठमाडौंको थानकोट, वानस्थली निवासी रणसुर सिलवालका नाति, भक्तवीर सिलवालका छोरा तत्कालीन महिन्द्र दल पल्टनका कम्पनी कमान्डर क्याप्टेन बलबहादुर सिलवालको जन्म १९६१ चैत्र ७ मा भएको थियो।

१९ वर्षको उमेरमा नेपाली सेनामा भर्ना भएका सिलवालको लेफ्टिनेन्ट कर्णेल दर्जासम्म पदोन्नति भई २००९ सालमा श्री श्रीनाथ बटालियनको कमान्डिङ अफिसर अर्थात् गणपति भएका थिए। ३२ वर्षसम्म अविच्छिन्न नोकरी गरी सेनाबाट अवकाश पाएका सिलवालको ८१ वर्षको उमेरमा २०४२ फागुन १८ गते निधन भएको थियो।

द्वितीय विश्वयुद्धमा लडाइँ लड्दा बृटिसको नं. २६८ बृगेड कमान्डरको आदेशअनुसार बर्माको अनामियो नजिक नाटमी भन्ने स्थानमा महिन्द्र दल पल्टनको ‘बी’ कम्पनीमा करिब ८० जवान फौजले जापानी सेनाको दुई मिडियम ट्याङ्क, एटी काटुनहरूसहित करिब ६०० जवानको फौज फिर्ता हुने क्रममा १९ मे १९४५ को राति नौ बजेदेखि एघार बजेसम्म दुस्मनलाई एम्बुस थापी आफ्नो तर्फबाट एक जवान पनि नोक्सान नगराई जापानीतर्फ अन्दाजी ५७ जवानको मृत्यु, ८० जवान घाइते गराई कारबाही सफल गराएबापत क्याप्टेन सिलवालले मिलिटरी क्रस पाएका थिए।

-डा. प्रेमसिंह बस्न्यात


Leave a Reply

Your email address will not be published. Required fields are marked *