६७औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा बलम्बुमा सहकारीकर्मीको भेला
थानकोट ।
‘सहकारीमा सुशासन, प्रविधि र एकिकरण’ नाराका साथ ६७ औँ राष्ट्रिय सहकारी दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
नेपालमा वि. सं. २०१३ चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापना भइ सहकारी आन्दोलनको सुरुवात भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको हो ।
चन्द्रागिरि नगर सहकारी समन्वय समितिले चन्द्रागिरि नगरमा पनि एक कार्यक्रम गरि यो दिवस मनाइरहेको छ ।
राष्ट्रिय सहकारी महासङ्घ लगायतका सरोकारवाला निकायले दिवसको सन्दर्भ पारेर आज विविध अन्तरक्रियात्मक कार्यक्रमहरु आयोजना
गरिरहेका छन् ।
देशभर अहिले करिब ३० हजारको सङ्ख्यामा सहकारी रहेको तथ्याङ्क छ । यो क्षेत्रमा झन्डै ६० लाख सदस्य छन्। सहकारी क्षेत्रले ५० हजारलाई प्रत्यक्ष तथा पाँच लाख नागरिकलाई अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ ।
कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत र वित्तिय पहुँचमा १५ प्रतिशत योगदान सहकारी क्षेत्रले गरेको बताइन्छ ।
नगर प्रमुख घनश्याम गिरी, नगरका विभिन्न वडाका वडाध्यक्षहरू, नगर क्षेत्रमा क्रियाशील सहकारीका पदाधिकारी, सदस्य तथा कर्मचारीहरू सहितको उपस्थितिमा बलम्बुमा शुभकामना सभा आयोजना गरिएको छ ।
गुर्जुधारामा भेला भएका सहकारीकर्मीहरूको र्याली बाजागाजासहित बलम्बु लाछीमा पुगी सभामा परिणत भएको थियो ।
चन्द्रागिरि नगरमा विभिन्न प्रकृतिका करिब डेढ सय वटा सहकारी नगरपालिकाको नियमन क्षेत्रमा रहेको नगरको आर्थिक विकास शाखाले जनाएको छ ।














