यान्त्रिक अवस्था ठिक नभएका गाडी हाँक्ने ७४ जना चालकमाथि ट्राफिक प्रहरीको कारबाही
थानकोट ।
यान्त्रिक चेकिङमा अवस्था ठिक नभएका सवारी साधन चलाउने ७४ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
काठमाडौंको बालाजुमा आइतबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ७४ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार झन्डै २०० सवारी साधन चेक गर्दा हेन्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएकालगायत अवस्था ठिक नभएका १० वटा भाडाका सवारी साधनसहित ७४ वटा सवारी साधन फेला परेका थिए ।
अवस्था ठिक नभएका सवारी साधन चलाउँदा सवारी दुर्घटनाको सम्भावना रहने र त्यसबाट यात्रु तथा सडक प्रयोगकर्ताको जीवन जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्नका लागि सवारी साधनको अवस्था चेकजाँच गर्न आज काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट ट्राफिक प्रहरीको टोली काठमाडौंको बालाजु क्षेत्रमा खटिएको थियो ।
सवारी साधन मर्मतपछि तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने जनाइएको छ ।













