चन्द्रागिरि क्षेत्रमा मध्यान्हपछि वर्षाको सम्भावना
थानकोट ।
चन्द्रागिरि नगर क्षेत्रको आकाशमा अहिले बिहान आंशिक बदली रहेको छ । हिजो साँझ यस क्षेत्रमा भीषण हावाहुरीसहित हल्का वर्षा भएको थियो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही स्थानमा आज पनि वर्षा हुनेछ । केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
विभागका अनुसार बिहान कोसी, मधेस र वाग्मती प्रदेशमा सामान्य बदली रहेको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । कोसी प्रदेशका एकदुईस्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
विभागले दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
काठमाडौंमा आज वर्षाको सम्भावना रहेको छ । मौसमविद् गोविन्द झाका अनुसार काठमाडौंमा अपराह्नपछि वर्षा हुनेछ । “काठमाडौंमा ३/४ बजेपछि वर्षाको सम्भावना छ,” उनले भने, “छिटपुटदेखि हल्लका वर्षा मात्रै हुनेछ । काठमाडौंका सबै स्थानमा एकनासले समान वर्षा पनि हुनेछैन ।” स्थानीय प्रणाली सक्रिय भएर वर्षा हुने भएकाले ठूलो र सबैतिर वर्षा नहुने उनको भनाइ छ ।













