चन्द्रागिरि साकोसले सहुलियत दरमा ‘हरित सवारी साधन’ ऋण उपलब्ध गराउने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका थानकोट मुख्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुमा हरित सवारी साधनको प्रयोगमा प्रोत्साहन गर्ने भएको छ ।

संस्थाले सफा  चार्जिङ्ग एण्ड सर्भिस स्टेशन प्रा.लि. सातदोबाटोसँग सम्झौता गरि हरित सवारी साधन ऋण अन्तर्गत सफा टेम्पोमा लगानी गर्ने भएको हो ।

कम पुँजी भएका वर्गमा रोजगारी सृजना गर्न प्रोत्साहित गर्ने र वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यले न्यून ब्याजदर र शुल्कमा संस्थाले यो ऋण प्रोडक्ट सुरुवात गरेको हो । ईमाडोल-रत्नपार्क, लगनखेल-बानेश्वर, लगनखेल-डल्लु हुँदै सञ्चालन हुने ४१ वटा लिथियम आयन रिचार्जेबल ब्याट्रिबाट सञ्चालित सफा टेम्पोमा ४ करोड रूपैयाँसम्म १२ प्रतिशत ब्याजदरमा लगानी गर्ने सम्बन्धी सम्झौता पत्रमा सोमबार चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ र सफा चार्जिङ्ग एण्ड सर्भिस स्टेशनका सञ्चालक रामहरी न्यौपानेले हस्ताक्षर गरेका छन् ।

चन्द्रागिरि साकोसले सफा टेम्पोका सञ्चालक वा मालिकहरुलाई प्रतिव्यक्ति १० लाखमा नबढाई उक्त ऋण लगानी गर्नेछ ।

यस ऋण प्रोडक्टबाट सफा चार्जिङ्ग एण्ड सर्भिस स्टेशनका सञ्चालक र सफा टेम्पोका मालिकहरुलाई लाभ पुग्ने संस्थाले विश्वास लिएको छ ।

संस्थामा तरलताको अनुपात मजबुद भएको कारणले कुल ऋण पोर्टफोलियोको निश्चित प्रतिशत ऋण सहुलियत गरी विपन्न वर्गसम्म पुग्न र दिगो विकास लक्ष्य अनुरुप वातावरण संरक्षणमा योगदान पुर्याउन पनि चन्द्रागिरि साकोसको यो सेवा सफल हुने विश्वास व्यक्त गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *