नियन्त्रित लागूऔषधसहित नागढुङ्गाबाट समातिए दिपेश र प्रितम
थानकोट ।
चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६ सय एम्पुल, फेनारगन ६ सय एम्पुल, नोफिन ६ सय एम्पुल र नाईट्राभेट ३ हजार ट्याब्लेटसहित काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-४ बस्ने १९ वर्षीय दिपेश तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ६५९४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी नागढुङ्गाबाट नै नियन्त्रित लागूऔषध डाइजेपाम ८ सय ८८ एम्पुल, प्रोमोथाइजिन हाइड्रोक्लोराइड ८ सय ८८ एम्पुल र बुप्रेनोर्फिन ८ सय ८८ एम्पुलसहित नवलपरासी रामनगर नगरपालिका-१ बस्ने २२ वर्षीय प्रितम सहनीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले परासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु. २ ख १६८६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















