चन्द्रागिरिमा निरन्तर झरी, पानी पर्ने र राेकिने क्रम दिनभर जारी रहने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरक्षेत्र लगायत काठमाडौं उपत्यकामा गए रातिदेखिनै वर्षा जारी छ।

जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही भू-भागमा बिहानैदेखि वर्षा भइरहेको छ ।

कोसी, मधेस र बागमती प्रदेशका थोरै तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।

काठमाडौं उपत्यकामा गएरातिदेखि नै वर्षा भइरहेको छ ।

कोसी र मधेस प्रदेशमा पूर्णतया बदली छ । बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

“काठमाडौं उपत्यकामा अहिले पनि वर्षा भइरहेको छ । दिउँसो पनि वर्षा हुनेछ,” मौसमविद् सरोज पुडासैनीले भने, “दिनभर वर्षा नभए पनि केही समय रोकिने र पुनः पानी पर्नेक्रम आज चलिरहनेछ ।”

उनका अनुसार बागमती प्रदेशमा मनसुनी प्रणाली अनुकूलको वातावरण रहेको छ ।

भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न विभागको आग्रह छ । दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले भनेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ