टी-२० विश्वकप क्रिकेटः भारत र अष्ट्रेलियाको सहज जित, दक्षिण अफ्रिका र इंग्ल्याण्डबीच खेल हुँदै

Thankot Times

थानकोट ।

जारी आईसीसी ट्वान्टी-२० विश्वकप अन्तर्गत सुपर-८ का खेलमा प्रतियोगितामा अपराजित रहेका भारत र अष्ट्रेलिया सहज जित हात पारेका छन् ।

बिहीबार सम्पन्न खेलमा भारतले अफगानिस्तानमाथि ४७ रनको जित निकालेको छ ।

बिहीबार बार्बाडोसस्थित केङ्सिङ्टनमा भएको खेलमा भारतले प्रस्तुत गरेको १८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३४ रनमात्र बनाउन सक्यो ।

अफगानिस्तानका अज्मतुल्लाह ओमरजाईले सर्वाधिक २६ रन बनाए । नजिबुल्लाह जद्रानले १९, गुलबद्दिन नैबले १७, मोहम्मद नाबीले १२ र ओपनर रहमनुल्लाह गुर्बजले ११ रन थपे । नुर अहमेदले १२ रन थपे ।

अफगानिस्तानविरुद्ध भारतका जसप्रित बुमराहले तीन विकेट लिए । चार ओभर बलिङ गरेका बुमराहे एक मेडन फ्याक्दै सात रन खर्चिए । अर्शदीप सिंह र कुलदीप यादवले समान दुई विकेट हात पारे । हार्दीक पन्ड्या र अक्षर पटेलको नाममा समान दुई विकेट रह्यो ।

त्यअसघि टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८१ रनको योगफल खडा गरेको थियो ।

भारतका मध्यक्रम ब्याटर सूर्यकुमारले ५३ रन बनाएका थिए । उनले २८ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । ९०–५ को स्थितिबाट सूर्यले हार्दिक पन्ड्यासँग छैटौँ विकेटका लागि ६० रनको साझेदारी गर्दै भारतको इनिङ सम्हालेका थिए ।

पन्ड्याले २४ बलमा तीन चौका र दुई छक्कासहित ३२ रन बनाए । ओपनर विराट कोहलीले २४, ऋषव पन्तले २० र सिवम दुवेले १० रन थपे । अक्षर पटेलले १२ रन जोडे ।

अफगानिस्तानका फजलहक फारुकी र राशिद खानले समान तीन विकेट लिए । नविन उल हकको नाममा दुई विकेट रह्यो ।

प्रतियोगिता अन्तर्गत शुक्रबार बिहान सम्पन्न खेलमा अष्ट्रेलिया विजयी भयो । वर्षाले प्रभावित खेलमा बंगलादेश कंगारु टोलीसँग स्तब्ध बन्यो ।

अष्ट्रेलियाले बंगलादेशलाई २८ रनले पराजित गरेको हो।

अष्ट्रेलियाले १४१ रनको लक्ष्य पछ्याउने क्रममा पानी परेपछि खेल डकवर्थ लुईस (डीएल) नियम अनुसार निर्णय लिइएको हो।

एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा टस हारेर बंगलादेशले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन बनायो। ​बंगलादेशका लागि कप्तान नाजमुल हुसेन सान्तोले सर्वाधिक ४१ रन बनाए। त्यस्तै तोहिद ह्दयले ४० रनको योगदान गरे। अन्य कुनै ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन्। ​अष्ट्रेलियाका प्याट किमिन्सले ३ विकेट लिए भने एडम जाम्पाले २ तथा मिचेल स्टार, ग्लेन म्याक्स्वेल र मार्कस स्टोनिसले एक एक विकेट लिए।

१४१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाको पालीमा पानी परेर खेल रोकिँदै चल्दै गर्‍यो। विना विकेटको क्षतिमा ६४ रन बनाउँदा पानी परेर खेल रोकियो। त्यसपछि सुरु भएको खेलको पहिलो बलमै ट्रभिस हेडलाई गुमाएको थियो। उनी ३१ रन बनाएर आउट भए। त्यसपछि ब्याटिङमा आएका मिचेल मार्स १ रन बनाएर पेभिलियन फर्किए। अष्ट्रेलियाका दुवै ब्याट्सम्यानलाई बंगलादेशका रिसाद हुसेनले आउट गरेका थिए।

ओपनर डेभिड वार्नर ५३ र ग्लेन म्क्सवेल १४ रन बनाएर एक सयको स्कोरमा खेलिरहँदा फेरि पानी परेर खेल रोकिएको थियो। त्यसपछि नतिजा डिएल मेथडबाट लिइएको हो।

प्रतियोगिता अन्तर्गत आज राति सवा ८ बजे इङ्ल्याण्ड र दक्षिण अफ्रिकाबीच खेल हुने तालिका रहेको छ ।

तस्बिरः आइसीसी


Leave a Reply

Your email address will not be published. Required fields are marked *