चन्द्रागिरिका पाँचसहित यी ९ वटा विद्यालयमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई वडाध्यक्ष छात्रवृत्ति

Thankot Times

थानकोट।

कक्षा ११ मा नयाँ भर्ना हुन चाहने विद्यार्थीहरूलाई चन्द्रागिरि नगरपालिका वडा नं. १५ मा रहेको वडा अध्यक्ष शैक्षिक विकास कोषले छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

चन्द्रागिरि नगरक्षेत्रमा स्थायी बसोबास गर्दै आएका विद्यार्थीहरुले कक्षा ११ मा अध्ययनका लागि आवेदन दिन सकिने कोषले जनाएको छ ।

आर्थिक अवस्था कमजोर भएका, सिमान्तकृत वर्ग, एकल महिलाका सन्तान तथा जेहेन्दार २५ जना विद्यार्थीहरुलाई यसपटक कोषले छात्रवृत्ति उपलब्ध गराउने तयारी गरिरहेको कोषका सल्लाहकार उत्तमबहादुर राउतले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म कोषबाट छात्रवृत्ति प्राप्त गरेका ४२ जना विद्यार्थीले कक्षा १२ उत्तीर्ण गरिसकेका छन्।

सो छात्रवृत्ति पाउने १६ जना विद्यार्थीले यसपटक कक्षा १२ को परीक्षा दिएका छन भने ११ जना विद्यार्थीले कक्षा ११ को परीक्षा दिएका छन् ।

सल्लाहकार राउतका अनुसार कोषका तर्फबाट सामुदायिक विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि शतप्रतिशत र संस्थागत विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइनेछ ।

कोषले बाफलस्थित ज्ञानोदय मावि, कुलेश्वरस्थित जनमैत्री बहुमुखी क्याम्पस, सतुङ्गलस्थित काठमाडौं शिक्षा क्याम्पस, चेकपोष्टस्थित प्रभात मावि, पुरानो नैकापस्थित कंकाली मावि, सोल्टीमोडस्थित एभरेष्ट कलेज र कलेज अफ सेन्ट्रल स्टेट, नैकापस्थित ब्राईट फ्युचर मावि र सान इन्टरनेशनल कलेजसँग समन्वय गरी कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।

यस वर्षपनि कोषले यी नै विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि छात्रवृत्ति उपलब्ध गराउनेछ ।

विगत सात वर्षदेखी विद्यार्थीहरूका लागि छात्रवृत्ति उपलब्ध गराउँदै आएको कोषले समयसमयमा विभिन्न शैक्षिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *