आधा अर्बको लगानीमा मनकामना केबुलकार स्तरोन्नति हुँदै, असार ३१ गतेदेखि ५० दिन सेवा बन्द
थानकोट ।
नेपालकै पहिलो केबुलकार सेवा मनकामना केबुलकारको स्तरोन्नतिका लागि पार्टपुर्जा नेपाल आइपुगेको छ।
अष्ट्रियाको डोपलमायर कम्पनीबाट प्राविधिकसहित सामान मनकामना केबलकारको बटन स्टेशन चितवन आइपुगेको मनकामना केबलकारको प्रवर्द्धक मनकामना दर्शन प्रालिले जनाएको छ ।
सो कार्यका लागि केबुलकार निर्माता कम्पनीकै सुझावअनुसार प्रविधिलाई अपडेट गर्दै स्तरोन्नतिका लागि यही असार ३१ गतेबाट केबलकार सेवा करिब ५० दिन बन्द गरिनेछ । यद्यपी मौसम आदि कुराको आधारमा स्तरोन्नतिको कार्य अनुमानित समय चाँडो पनि हुन सक्ने कम्पनीको भनाइ छ ।
सो क्रममा केबलकारको मुख्य लट्ठादेखि रिङ, स्टेशन भवनलगायत संरचना स्तरोन्नति गर्न करिब ५० करोड खर्च लाग्ने अनुमान गरिएको मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
कम्पनीले हाल एनालगमा आधारित प्रविधि अवलम्बन गरिरहेको छ भने यसमा जडित मुख्य मोटर डीसी करेन्टबाट चल्छ।
यसपछि स्तरोन्नति हुने प्रविधि डिजिटल र नवीनतम हुनेछ भने यसलाई डोपलमायरको डी कनेक्ट सिस्टम भनिने कम्पनीले जनाएको छ ।
यसमा सम्पूर्ण डिजिटल प्रविधिबाट चल्नुका साथै यसको मेन मोटर अब एसी करेन्टबाट चल्नेछ। पुरानो मोटर, कन्ट्रोल सिस्टम, प्यानल, सबै यसै प्रणालीमा आधारित हुने भएकाले केबुलकारमा मुख्य मेसिनरी सोहीअनुसार अपग्रेड हुनेछन्।
त्यस्तै, मुख्य केबुल तार लठ्ठा पनि क्रमशः पुरानो भएकाले स्तरोन्नति गरिनेछ भने कम्युनिकेसन तार फेर्ने, डिजिटल कन्ट्रोल सिस्टम परिवर्तन गर्ने, सबै तारहरु फेर्ने, डिसी मेन मोटर फेरेर एसी मेन मोटर डाइभ राख्ने, तीनवटा टावर ओभरहालिङ गर्ने तथा जनशक्तिका लागि एड्भान्स तालिम समेत आयोजना हुनेछ ।
केबुलकार सेवा बन्द रहेको अवधिमा पनि तल्लो स्टेशनमा रहेको रेस्टुरेन्ट भने खुला रहने मनकामना दर्शन प्रालिले जनाएको छ।














