काठमाडाैं जिल्ला खेलकुद विकास समिति अध्यक्षमा चन्द्रागिरिका भाइकृष्ण बलामी नियुक्त

Thankot Times

थानकोट ।

बागमती प्रदेशका खेलकुद विकास समितिका सदस्यसचिव सूर्यलाल भण्डारीले राजनीतिक भागबण्डाका आधारमा बागमती प्रदेशका १३ मध्ये ६ जिल्लामा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नियुक्त गरेका छन् ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको अवस्थामा भण्डारीले राजनीतिक भागबण्डामा काठमाडौं, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ र काभ्रेका खेलकुद विकास समिति अध्यक्ष नियुक्त गरेका हुन् ।

गत वैशाख २३ मा बसेको परिषदको बोर्ड बैठकले ती जिल्लाका खेलकुद विकास समिति अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको बताइएको छ ।

सामाजिक विकास मन्त्री कुमारी मोक्तानको अध्यक्षतामा बसेको परिषदको बोर्ड बैठकले गरेको निर्णयका आधारमा सदस्यसचिवले समितिका अध्यक्ष नियुक्त गरेको हो ।

सदस्यसचिव भण्डारीले सत्तारुढ माओवादी केन्द्रलाई ४ र नेकपा एकीकृत समाजवादीका २ जनालाई अध्यक्षको नियुक्ति दिएका हुन् । राजनीतिक भागबण्डाका आधारमा माओवादी केन्द्रले मकवानपुर, धादिङ, काभ्रे र सिन्धुपाल्चोकको अध्यक्ष पाएको छ भने एकीकृत समाजवादीले सिन्धुली र काठमाडौंमा नियुक्ति लिएको छ ।

सदस्यसचिव भण्डारीले काठमाडौँमा चन्द्रागिरि नगरपालिका-०६ मातातिर्थका भाइकृष्ण बलामी, सिन्धुपाल्चोकमा रामकृष्ण दंगाल, काभ्रेमा मानवीर बाइवा, मकवानपुर राज मोक्तान, धादिङ प्रतापसिं तामाङ र सिन्धुली अध्यक्षमा वीरबहादुर थिङलाई नियुक्त गरेका छन् ।

भण्डारीका अनुसार कार्यबोझ र काम तथा भुक्तानी बाँकी रहेको जिल्लामा अध्यक्ष नियुक्त गरिएको हो ।

नियुक्त भएका जिल्ला अध्यक्षहरूको पदावधि ४ वर्षको रहने बताइएको छ ।

काठमाडाैं जिल्ला खेलकुद विकास समिति अध्यक्ष नियुक्त बलामीले बिहीबार पद बहाली गरेका छन् । बलामी हाल नेपाल स्की संघका केन्द्रीय सदस्य रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *